इटहरीः इटहरीमा शुक्रबारबाट तीन दिने खाद्य मेला सुरु भएको छ । इटहरी बजार नजिकैको साबिकको जनता स्कुलको मैदानमा भएको मेलामा तीन दर्जन हाराहारी स्टलहरु छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आयोजना गरेको प्रादेशिक खाद्य मेलामा खाद्य उत्पादक कृषक देखी खाद्य प्रविधिका विद्यार्थीहरु सम्मका स्टलहरु छन ।
मेलामा रहेका विभिन्न स्टलहरुमा सबैको ध्यान भने जुम्ला बिशेष स्टलमा छ । स्टल नम्बर २ भएपनि आकर्षणको हिसाबमा एक नम्बर स्टल बनेको छ ‘जुम्ला विशेष’ स्टल । जुम्ला विशेष स्टलमा पनि सबैभन्दा धेरैको रोजाइमा परेका छन जुम्लाको बहुचर्चित मार्सि चामल र धेरै पहिलेबाटै लोकप्रिय जुम्लेली स्याउ ।
जुम्ला जिल्लाको पाताराशी गाँउपालीका-६ बाट स्टल लिएर आएकि गंगादेबी राउतले आफूले विभिन्न १५ वटा आइटमहरु ल्याएको बताउँछिन । तर,आफ्नो स्टलमा सबैभन्दा धेरैको रोजाइमा मार्सि भनेर चिनिएको कालिमासी चामल र जुम्लेली स्याउमा धेरैको आकर्षण भएको राउतले बताइन ।
‘मेरो स्टलमा जुम्लाको माटोमा अगानिक रुपमा उत्पादन भएकाग ओखर, स्याउको सिकुटी, भटमासा, दाल, तिते फापरको पिठो, तितेपाती, मकैको पीठो, गहुँको पिठो, जिम्बु, जडिबुटि चिया, कागुनोको चामल जस्ता धेरै कुराहरु छन’, हिमाली कृषि उद्योग जुम्लाकि राउतले भनिन, ‘यहाँ पुर्वमा धेरैले कालीमार्सि चामल र स्याउ मन पराउनु भो ।’
काठमाडौंमा प्रचन्ड र ओलीले खाएको चर्चापछि काली मार्सिको महत्व बढेपनि जुम्लाका अरु धेरै कुराहरु पनि स्तरिय भएको राउत बताउँछिन । जुम्लाको हावापानीमा उत्पादन गरिएको धेरै कुराहरु विदेशीहरुले रुचाएको र काठमाण्डौमा पनि खपत हुने राउतले बताइन । पूर्वमा जुम्लाका उत्पादनहरु चिनाउन पहिलोपटक आएकि राउत यातायात सस्तो भएमा आफ्ना उत्पादनहरु झनै सस्तो हुने बताउँछिन ।
जुम्लाको एक गाँउपालीकामा रहेको आफ्नो कृषि उद्योगका उत्पादनहरु पूर्वमा रुचाइएकोमा राउत खुशी छिन । सवारी भाडा धेरै लाग्ने कुराले सधै दिन नसकिने कुरामा भने उनी चिन्तित छिन ।
‘हामीले जुम्लाबाट आफै लिएर आएर बेच्दा पनि धेरै महँगो त भएको छैन’, २०० रुपैयाँ किलो स्याउ र २५० रुपैयाँ किलो कालीमासि चामल बेच्दै गरेकि राउतले भनिन, ‘जुम्लाको स्याउ, चामल, खानेकुराको सस्तो ढुवानी पुर्वमा भयो भने अझै सस्तो हुन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४