काठमाडौं- ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए) को फाइनल काठमाडौंमा सम्पन्न भएको छ। माघ २२ गते होटल मल्बेरीमा फाइनल भएको हो।
कार्यक्रममार्फत् देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएका छन्, जसमध्ये ६ जना फाइनलमा पुगेका थिए। फाइनलमा पुगेका ६ जना निम्न छन्-
- अञ्जना मल्ल: सहसंस्थापक तथा सीइओ, दिगो नेपाल
- तिलकप्रसाद धिताल: चिफ फाइनान्सियल अफिसर, मेरो शिक्षा
- प्रलिशा अधिकारी: संस्थापक, टावर्गानिक्स नेपाल
- विवेक ढकाल: सहसंस्थापक तथा सीइओ, कलेज टिफिन
- नवीन तिमल्सिना, संस्थापक तथा सीइओ, मास्टर साब
- अर्जुन घिमिरे, संस्थापक, ड्लुप्लोड
निकै प्रतिस्पर्धात्मक प्रतियोगिताबाट राष्ट्रिय विजेता छनोट गरिएको थियो। यसमा मेरो शिक्षाका चिफ फाइनान्सियल अफिसर तिलकप्रसाद धिताल राष्ट्रिय विजेता घोषित भएका छन्। यसैगरी रनर-अप मास्टर साबका संस्थापक तथा सीइओ नवीन तिमल्सिना भएका छन्। फर्स्ट रनर अपमा ड्लुप्लोडका संस्थापक अर्जुन घिमिरे छानिएका छन्। विजेताहरुले क्रमश: लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाएका छन्।
प्रतियोगिताको सेमीफाइनल मध्य बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले होस्ट गरेको थियो। कार्यक्रममा ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए) २०२३-२४ का अध्यक्ष तथा डीभी ग्रुप अफ कम्पनीजका म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले प्रतियोगीहरुलाई शुभकामना व्यक्त गरेका थिए।
प्रतियोगिताको फाइनलका निर्णायकहरुमा आयुष नेपाल, यज्मा राजभण्डारी र मौसमी श्रेष्ठ रहेका थिए। यसैगरी सेमीफाइनलका निर्णायकहरुमा सजन शर्मा, प्रसुन जलान र सन्नी जोशी रहेका थिए।
यस प्रतियोगिताका फाइनलिस्टहरुले नेपालको प्रतिनिधित्व गर्दै भारतमा हुने क्षेत्रीय फाइनलमा सहभागी हुने र ५० हजार डलर पुरस्कार जित्ने मौका पाउनेछन्।