विराटनगर- गत शनिबार सन् २०१८ को डिसेम्बरको पहिलो दिन मात्रै थिएन, मेरो पहिलो माउन्टेन फ्लाइट गर्ने दिन पनि थियो। विराटनगर विमानस्थलबाट भएको व्यावसायिक माउन्टेन फ्लाइट भने यो दोस्रो थियो।
मंसिर ८ गतेदेखि विराट होलिडेजले शुभारम्भ गरेको प्रादेशिक माउन्टेन फ्लाइट गर्न सुनसरीबाट पाँचजना गएका थियौं। कवित्रय मनु मन्जिल, बद्री भिखारी र प्रदीप मेन्याङ्बोसँगै धरानका पत्रकार योगेश काफ्ले थिए।
संघीय राजधानी र पोखराबाट मात्रै हुँदै आएको माउन्टेन फ्लाइट प्रदेश १ बाट सुरु हुँदा म अत्यन्तै उत्साहित थिए। उत्साहित म मात्रै थिइनँ, सबै थियौँ। र त, ७ बजेको उडान समयभन्दा ५० मिनेटअगाडि नै हामी विराटनगर विमानस्थल पुग्यौं।
७ बजेको उडान ‘भिजिबिलिटी’ कम भएको भन्दै ढिलाइ भयो। तराईमा बिहानको हुस्सुले आकाश धमिलिएकाले भनेको समयमै उडान गर्न नसकिएको यती एयरलाइन्सका कर्मचारी बताउँदै थिए।
हामीले बोर्डिङ पास लिएर यती एयरको नाइन एन–एएचयु नम्बरको जेट स्ट्रिम जहाजको झ्यालमा पुग्दा साढे सात बजेको थियो। झ्यालमा शीतैशीत थियो। रातभर खुला आकाशमुनिको ‘पार्किङ वे’ मा राखिएकाले शीतले भिजेको थियो झ्याल। हिमाल हेर्ने झ्याल भिजेकाले कतै हिमाल मज्जाले हेर्न नपाइने पो हो कि भन्ने चिन्ता लाग्यो।
९ हजार ९ सय भाडा लिएर गरिएको हिमाली उडानमा हिमाल राम्रोसँग पक्कै देखाउलान् भन्ने भित्री आशा भने जीवित थियो। यही आसले बाहिरको धमिलो धर्तीलाई जित्ने गरी मन उज्यालो बनायो।
७:३५ मा हाम्रो विमानले विराटनगर विमानस्थलको धावनमार्ग छाड्यो। धावनमार्ग विमानले छाडेपछि हामीले धमिलो धर्तीमै तराईका फाँट र विराटनगर क्षेत्र देख्यौं। केही समयपछि तराईको हुस्सु चिर्यो विमानले। अनि, हामीले पहाड देख्यौं। होचो मैदानबाट अग्ला पहाडि क्षेत्र उक्लँदा हाम्रो उडान रोमाञ्चक बन्दै थियो। केही समयपछि विमानले पहाडमाथिको बादल पनि छेड्यो।

हुस्सु छिचोलेको विमानले पहाड प्रस्ट देखाएजस्तै बादल छिचोलेको विमानले हिमाल प्रस्ट देखाउन थाल्यो। हामी २ दर्जन यात्रुले अब हिमाली शृंखलाहरु चियाउन थाल्यौं। विमानको दायाँतर्फ हिमाली शृंखलाहरु उभिएकाले हामी बायाँतर्फका दायाँतर्फ जाँदै हिमाल हेर्न थाल्यौं।
विराटनगरबाट काठमाडौं जाँदा पनि हिमाल देखिन्थे। इलामको सन्दकपुर, ताप्लेजुङको पाथीभरा अनि धनकुटाको भेडेटारबाट राम्रोसँग हिमाल हेरेको अनुभव थियो। यो उडानले ती सबै हिमाली हेराइलाई माथ खुवायो।
हामीले लहरै उभिएका होचा, मझौला र अग्ला हिमालहरु नजिकबाट देख्न पायौं। विमानकी एक्ली एयर होस्टेसले पूर्वोत्तर देखाउँदै भनिन्– ‘उः त्यो परको कञ्चनजंगा हिमाल हो।’ कञ्चनजंगा र कुम्भकर्ण हिम शृंखलाले हामीलाई मोहित बनाए।
कञ्चनजंगा र कुम्भकर्ण हेरेपछि हामीलाई ककपिट भनिने पाइलट बस्ने ठाउँमा लगेरै हिमाल हेर्न दिइयो। दुई मिनेटका लागि हिमाल हेर्न जब म ककपिट छिरे, आँखै अगाडि आयो हिमाल। पाइलट केएम प्रधानले भने, ‘उः त्यो अगाडिको मकालु हो, पछाडिको चाहिँ सगरमाथा हो।’ आँखै अगाडि मकालु र सगरमाथा देखेपछि यस्तो लाग्यो कि ककपिटको सिसामै टाँसिएको छ हिमाल। उज्यालिएर उभिएको यस्तो आकर्षक हिमाली आकृति म जीवनमा पहिलोपटक हेर्दै थिएँ। यति सुन्दर हिमाल मैले तस्बिरमा पनि देखेको थिइनँ। चलचित्रमा पनि हेरेको थिइनँ। बिहानको घामले उज्यालिएको हिम शृंखला मेरा लागि पहिलो अनुभव थियो।
सुन्दर हिमाली दृश्यालोकनले लोभिएर मैले घाँटीमा भिरेको डिएसएलआर क्यामेरा तेस्र्याउन बिर्सेछु। गोजीमा रहेको मोबाइलबाट तस्बिर लिन भुलेछु। हिमाल हेरेर अघाउनै पाएको थिइनँ। दुई मिनेट बढी भएको जनाउ दिँदै पाइलटले भने, ‘थ्यांक यु, अब तपाईंको पालो सकियो।’
सगरमाथा र मकालु उभिएको हिमाली शृंखलाअगाडि अडिएको जहाजको ककपिट छोड्नुपर्दा खल्लो लाग्यो। हिमाली देशको नागरिक भएर जीवनको युवा अवस्थामा आएर मात्रै यस्तो नजिकबाट हिमाल हेर्न पाउँदा मन पुलकित भयो। यस्तो लाग्यो- अरू बेला हवाई यात्रा र पाहाड चढेर हिमाली दृश्य हेर्दा हिमालको शिर, ढाड र कुम मात्रै हेरिएछ। आजको माउन्टेन फ्लाइटबाट भने हिमालको खास अनुहार हेर्न पाइयो।

बादलका झुप्पाहरुले बनेको समथल कार्पेटमाथि उभिएका हिमाल साँच्चिकै चित्ताकर्षक लाग्यो। इटहरीका कवि बद्री भिखारीले यो दृश्यलाई ‘बादलको बगर’ माथिको स्वर्गीय दृश्य भएको व्याख्या गरे। ‘दुस्मन’ जस्तो बहुचर्चित कविता लेखेका कवि मनु मन्जिलले त यो माउन्टेन फ्लाइटलाई अत्यन्तै भावनात्मक अभिव्यक्ति दिए। उनले भने, ‘मलाई त आज भगवान्को दर्शन गरेर आएको जस्तो भएको छ।’
वास्तवमा ‘बादलको बगर’ माथि ‘भगवान्को दर्शन’ जस्तै भयो माउन्टेन फ्लाइट। माउन्टेन फ्लाइटले विश्वको सर्वोच्च शिखर सगरमाथा आखै अगाडि उभ्याइदियो। विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंगा, चौथो ह्योत्से र पाँचौं मकालु आदि हिमाल नजिकबाटै हेर्न पाइयो। प्रदेशबाटै माउन्टेन फ्लाइट गरेर विश्वस्तरीय पर्यटन प्याकेज अनुभव लिन पाउँदा धेरै भाग्यमानी महसुस भयो। धेरै भावनात्मक बनायो।
आँखामा कैद गरिएका केही दृश्य र क्यामेरामा कैद गरिएका केही दृश्य अनि पुलकित मन लिएर विराटनगर विमानस्थलमा ओर्लंदा ठिक एक घन्टा भएको थियो। यो एक घन्टाको आधा समय हामीले हिमाललाई नजिकबाट हेरेर बितायौं।
विराटनगरबाट गरिएको माउन्टेन फ्लाइटको एक घन्टा जीवनको धेरै महत्त्वपुर्ण क्षण बन्यो। हामी ओर्लनासाथ माउन्टेन फ्लाइट गराउने विराटनगरका दुई व्यवसायीहरु भविश श्रेष्ठ र फणीन्द्र अधिकारीले हाम्रो उडान अनुभव सोधे।
‘अब माउन्टेन फ्लाइटमा संघीयता आयो’, मैले उहाँहरुलाई प्रतिक्रिया दिँदै भने, ‘विराटनगरबाट २२ किलोमिटर उत्तर इटहरीबाट उडान गर्न म आएजस्तै २२ किलोमिटर दक्षिणका भारतीयहरुलाई पनि तान्न सके यो उडान व्यापक र व्यावसायिक बन्छ।’