सोमबार, मंसिर २९, २०८२

पानी अभावले उपचार सेवा नै प्रभावित

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

पर्वत- पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ। 

National life

नियमित स्रोतवाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो। अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ। आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए। 
    
अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो। दैनिकजसो सातवटा श्ययामा मिर्गौलाका  बिरामीको हेमोडायलायसिस हुँदै आएको छ। हेमोडायलायसिस गर्न मात्र झण्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भए पनि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ। 

डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्सरे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवासलगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ। पानी अभाव हुँदा निजी घरबाट सापट मागेरसमेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिए।

सदरमुकाम कुश्माबजारमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय कुश्मा खानेपानी सरसफाइ उपभोक्ता समितिले समेत अहिले भइरहेको परिमाणभन्दा थप पानी उपलब्ध गराउन नसक्ने भएपछि स्रोतको खोजी गर्न थालिएको छ। शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य, अस्पताल व्यवस्थापन समितिलगायतको सहकार्यमा नयाँ स्रोतको खोजी भएको अध्यक्ष गिरीले जानकारी दिए। 

कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट लिफ्टिङ गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ। केही दिन पहिला अस्पतालमा सञ्चालित हेमोडायलायसिस सेवाको शुभारम्भ गर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालमा खानेपानीको अभाव समाधान गर्न तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

Laxmi sunrise bank
kumari

लगत्तै प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट रु ५० लाख  विनियोजन भएपछि वैकिल्पक स्रोतबाट पानी ल्याएर समस्याको समाधान गर्न थालिएको अध्यक्ष गिरीले जानकारी दिए। उनका अनुसार प्रतिसेकेण्ड तीन लिटर पानी तान्नेगरी लिफ्टिङ गरिने भएको छ। उक्त योजना तत्काल सुरु गर्ने र अबको दुई महिनाभित्र पानीको समस्या समाधान गरिने अस्पतालका अध्यक्ष गिरीले बताए। 

१५ शय्याको अस्पतालबाट ५० श्ययामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा श्ययामा राखेर बिरामीको उपचार भइरहेको छ। पछिल्लो समय अस्पतालले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिसलगायत अन्य सामान्य प्रकृतिका शल्यक्रिया सेवासमेत सञ्चालन गरेको छ।

अस्पतालमा उपचार सेवा थप भएसँगै खानेपानीको समस्या समेत टड्कारो बनेका बेला प्रदेश सरकारले बजेट विनियोजन गरेपछि वैकल्पिक स्रोतबाट पानी ल्याउन लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए। उनका अनुसार केही महिनापछि पानीको समस्या समाधान हुने र जतिसुकै सङ्ख्यामा बिरामी आए पनि सेवा प्रवाहमा सहज हुने बताए।

प्रकाशित: Feb 07, 2024| 16:11 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्