बिहीबार, वैशाख ६, २०८१

गजलकार ज्ञानुवाकरसँगको अन्तरंग : बिहेपछि पनि प्रेम प्रस्ताव आए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सामान्य जीवन त जो कोहीले जिउने गर्छ। जिउनुले मात्र जीवनको परिभाषा पूर्ण हुन सक्दैन। जीवनको परिभाषा पूर्ण हुन त हजारौंको भीडमा केही फरक बनेर उभिन सक्नुपर्छ। जो फरक बनेर उभिन सक्दैन, ऊ भीडमै हराउँछ। जो फरक बनेर उभिन सक्छ, उसमा सबैको नजर गड्छ। मान्छेमा अरू भन्दा केही फरक गरेर स्थापित हुने हुटहुटी भयो भने ऊ फरक देखिन्छ भने समाजमा स्थापित पनि हुन्छ। आज हामीले नेपाल समयमा त्यस्तै व्यक्तिको जीवन आयामका आरोह, अवरोह र उनले गरेका फरक कर्मको चर्चा गरेका छौं। ती हुन् ज्ञानुवाकर पौडेल। जसले नेपाली साहित्यमा गजल विधाको विकासका लागि सिंगो जीवन अर्पेका छन्। गजल जागरणकै लागि पुगेका छन् देशको कुना कुनासम्म। 

विशेष :
म नरहे पनि अब गजल विस्थापित हुँदैन
म कविता लेखेको भए भीडमा हराउँथेँ
बिहेपछि पनि बिहेका प्रस्ताव आउँथे
एक जना फ्यानले सय रुपैयाँमा अटोग्राफ माग्नुभएको थियो


गजल साहित्यको लोकप्रिय र एक विशिष्ट विधा हो। नेपाली साहित्यमा १९४० सालतिर मोतीराम भट्टले गजल भित्र्याएका हुन्। बनारसमा रहँदा उर्दू र हिन्दी गजलबाट प्रभावित बनेका भट्टले नेपालमा गजल भित्र्याए पनि त्यो लामो समयसम्म लोकप्रिय बन्न सकेन। करिव ५० वर्ष जति नेपाली गजल वाङ्मयले शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगरजस्ता केही सीमित गजलकारलाई मात्र पायो। १९९६ पछि गजल लेख्न नै छोडियो। जब २०३० तिर नेपाली गजलमा पौडेलको आगमन भयो। उनले गजलमा नवजागरण नै ल्याए।

सेनाको जागिर छोडेर २३ वर्षमा विद्यालय 

आफूलाई गजलमाली भन्न रुचाउने पौडेल २००४ साल वैशाख २३ गते काठमाडौंको गौशालामा पिता पण्डित डोलकिशोर उपाध्याय र माता जगतकुमारी पौडेलका कोखबाट कान्छो पुत्र रत्नका रुपमा जन्मेका हुन्। पौडेल काठमाडौंमा जन्मे पनि उनको बालापन भने सुदूरपश्चिममा बित्यो। खानलाउन पुग्ने राम्रै परिवारमा जन्मेका पौडेलको जीवनयात्रा रोचक छ। उनी २३ वर्षको उमेरमा मात्रै विद्यालय भर्ना भएका थिए। उनी ६ वर्षको हुँदा २०१३ सालमा नै उनकी ममतामयी माताको निधन भयो। २०३९ सालमा बुवाको निधन भयो। त्यसपछि उनको काँधमा जिम्मेवारी थपियो। 

अनौपचारिक शिक्षा घरमै पाएका पौडेल २३ वर्षको उमेरमा कक्षा सातमा भर्ना भए। त्यो पनि रहरले होइन करले। २०२७ सालतिर पौडेलले २० वर्षको उमेरमा नेपाली सेनामा जागिर खाएका थिए। सेनामा जागिर खाएपछि नपढेको मान्छेको प्रमोसन सम्भव थिएन। उनलाई त्यही बाध्यताले विद्यालय पुर्‍यायो र २०२७ सालमा दरबार हाइस्कुलमा कक्षा सातमा भर्ना भए। जुन उनको जीवन सफलताको सबैभन्दा ठूलो पाटो बनिदियो। उनी दिउँसो जागिर गर्थे, रात्रि क्लास लिन्थे। उनलाई गोपाल पाँडे ‘असीम’, बालकृष्ण समजस्ता वरिष्ठ साहित्यकारहरुसँग अध्ययन गर्ने संयोग पनि त्यही जुर्‍यो। 


कैलालीको बसौटीमा पौडेल परिवारको २७ बिघा जग्गा थियो। त्यो जग्गा उनको परिवारलाई जमिनदार रामदिन महतोका बुवाले दिएका हुन्। जागिरे जीवनमा प्रवेश गर्नुभन्दा पहिले उनी चकचके थिए। चरा मार्न भनेपछि हुरुक्कै हुने पौडेल फिल्म हेर्न पनि त्यत्तिकै रुचाउँथे। उनी फिल्म हेर्नकै लागि ६ घन्टा लामो ट्रेनको यात्रा गरेर लखनउ पुग्थे। चन्दनचौकीबाट मैलानी हुँदै लखनौ पुगेर फिल्म हेरेको स्मरण उनको मनसपटलमा ताजै छ। 

घरमै स्वअध्यन गरेका पौडेल त्यसरी फिल्म हेर्न जाँदा भारतबाट कुसुवाकान्त, प्यारेलाल आवारा, गोविन्द सिंह, प्रेम वाजपेयीलगायतका साहित्यकारका उपन्यास किनेर ल्याउँथे र अध्ययन गर्थे। भारतका लेखकहरुले तिनीहरुलाई सी ग्रेडको साहित्यकारमा राखेको बताउँदै पौडेलले आफूले भने ती लेखकका पुस्तकमा सरल पाएको बताए।  

उनले भने, ‘नाम चलेका राजेन्द्र यादव, रवीन्द्रनाथ टेगोर जस्ता लेखकका अगाडि तिनीहरु सी ग्रेडका लेखक ठानिन्थे।’ साहित्यमा आकर्षित गर्न यस्ता पुस्तकको महत्त्वपूर्ण भूमिका हुने पौडेलको बुझाइ छ। 

नेपालमा पनि त्यस्ता लेखक छन्। ‘एसपी आसा, खड्कबहादुर सिंह, मोहनबहादुर मल्ल, लीलाबहादुर थापा यस्तै लेखक हुन्’, पौडेलले भने। पौडेल लखनउ गएको समयमा कहिलेकाहीं बाईको कोठीमा पुगेर मुद्रा पनि हेर्दा रहेछन्।

जसले उनलाई गजलतर्फ आकर्षित गर्‍यो। उनलाई गजल लेख्दै गर्दा गजलको ज्ञान मात्र भएन कि त्यसले आत्मबोधी पनि बनायो।  पौडेल आत्मबोधी ज्ञानलाई जीवन सफलताको सबैभन्दा ठूलो कडी ठान्छन्।  पौडेल अरूसँग कहिले पनि आफूलाई तुलना गर्दैनन्। सबैको आफ्नै पहिचान हुन्छ भन्ने कुरा उनले बुझेका छन्। 

पौडेलका गजल २०३५ सालदेखि नै गोरखापत्रमा छापिन्थे तर उनले पहिले गजल संग्रह भने २०४८ सालमा प्रकाशित गरे। नेपाली सेनामा आठ वर्ष जागिर खाएका पौडेललाई एक दिन त्यस्तो समस्या आइपर्‍यो कि उनले जागिर छोड्नुपर्ने भयो कि पढाइ। कलेज पढ्न थालेपछि उनलाई कलेज र जागिरको समय मिलाउन गाह्रो भयो। उनले कर्नेलको हप्की खेप्नुभन्दा पढाइलाई नै निरन्तरता दिने सोच बनाए र जागिर छोडेर साहित्यमा समर्पित भए। 

उनले नेपाली सेनामा जागिर खाँदा पनि खासै दुःख गर्नुपरेन। विदेशी मुद्रा सटहीका लागि अर्थ मन्त्रालयबाट इजाजत पाइसकेपछि वाणिज्य मन्त्रालयमा इम्पोर्ट लाइसेन्स बनाउने काम गर्नुपर्‍यो।

उनले काम गर्दा अहिलेको जस्तो कम्प्युटरको युग थिएन। टेलेक्सको जमाना थियो। उनी खाता खोल्थे। भारतबाट आवश्यक सामान मगाउँथे। सामान रक्सौल भन्सार गएर छुटाएर ल्याउनुपर्‍यो। उनी त्यहीं काम गर्थे। जसले गर्दा उनले धेरै कुरा जान्नेबुझ्ने मौका पाए भने विदेशीहरुसँगको संगत पनि भयो। आफ्नो कामबाट हाकिम पनि खुसी भएको र पढ्नुपर्छ भनेर प्रेरणा दिने गरेको पौडेल अहिले पनि सम्झिन्छन्। 

सेक्युरीटी गार्डमा एप्लाई गर्दा सुपरभाइजरको जागिर 

जागिर छोडिसकेपछि काठमाडौंको बसाइ पौडेललाई गाह्रो जस्तो बन्दै थियो। त्यत्तिकैमा गोरखापत्रमा सोल्टी होटेलले सेक्युरिटी गार्ड मागेको विज्ञापन छापियो। पौडेले त्यो देखे। जागिरका लागि आवेदन दिए। अन्तरवार्ता दिए। उनले आवेदन फाराममा नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा आउने उल्लेख गरेका थिए। अन्तरवार्ता लिने पनि बंगाली नागरिक रहेछन्। उनले बंगाली भाषा आउने भनेपछि चाखका साथ लिए पौडेललाई। बंगालीमै कुरा गरे। पौडेल पनि के कम ? आर्मीमा छँदा बंगाली भाषा सिकेका थिए।

उनले पनि बंगालीमै जवाफ दिए। अन्तरवार्ता लिने व्यक्ति पौडेलप्रति आकर्षित भए र स्टोर सुपरभाइजरमा जागिर दिन्छु भने। पौडेलले पनि सहमति जनाए र २०३५ सालमा महिनाको ९५० रुपैयाँ तलब खाने गरी जागिरमा नियुक्त भए। त्यतिबेला त्यो रकम सहसचिवको तलब बराबर  हो। पौडेल इमानदार थिए। उनी भन्छन्, ‘मैले त्यति बेला थोरै मात्र बदमासी गरेको भए काठमाडौंमा आठ-दसवटै घर बनाउन सक्थें।’

पत्नीलार्इ कलकत्ता मन नपर्दा रेडियो नेपालको जागिर 

उनको कामबाट सबै प्रभावित भए र तीन वर्षपछि उनलाई कोलकाता पठाइयो। त्यहाँ उनले सिप्रदी ड्रेडलिंकमा काम गर्नुपर्ने भयो। जुन कम्पनी सोल्टी होटेलकै मालिकको हो। उनी त्यहाँबाट टाटाका गाडी नेपाल पठाउने काम गर्न थाले। कलकत्तामा काम गर्दैगर्दा २०४४ सालमा उनको विवाह भयो । धर्मपत्नी त्रिपुरालाई कलकत्ता मन परेन। पत्नी त्रिपुरा पौडेल नाम चलेकै मुक्तककार पनि हुन्।पौडेलले काम तीन घन्टा मात्रै गर्नुपर्‍यो। तर कम्पनीबाट कारखाना पुग्न तीन घन्टा ट्रेनको बाटो प्रयोग गर्नुपर्‍यो। 

कारखाना गएका बेला त्यत्रो लामो समयसम्म अर्काको ठाउँमा नवविवाहित पत्नीलाई कसको भरमा छोड्ने ? भित्रभित्रै पिरलोमा थिए उनी। दोधारे मन भएकै बेला वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक जैनेन्द्र जीवनले पौडेललाई रेडियो नेपालमा हिन्दी भाषाको समाचार सम्पादन गर्ने गरी जागिरमा नियुक्त गर्ने बताए। त्यसपछि पौडेल रेडियो नेपालका जागिरे बने। २०४६ सालमा साहित्यकार मनु ब्राजाकीले आफ्ना साडुलाई भनेर साझा प्रकाशनबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘गरिमा’ मा जागिर लगाइदिए।  पौडेल त्यसपछि दुवै ठाउँमा जागिर गर्न थाले। उनले रेडियो नेपालमा १९ वर्ष जागिर खाए। 


रेडियो नेपालमा जागिर खाएपछि उनलाई गजल गतिशील बनाउन झन् सहज भयो। पौडेल मोतीराम भट्टले नेपालमा गजल भित्र्याएको यसरी स्मरण गर्छन्, ‘मोतीराम भट्टले भारतमा निर्वासित जीवन बिताउँदा उनका सहपाठी भारतेन्दु हरिशचन्द्रले अब गजल उर्दूमा नपढ्ने भनेर हिन्दीमै लेख्न सुरु गरे। उनले हिन्दीमा गजल लेख्न सुरु गरेपछि मोतीराम भट्टलाई पनि म नेपालीमा सुरु गर्छु भन्ने लाग्यो। उनी नेपाल फर्किए। अहिलेको सिटी महलपछाडि भट्टको घर थियो। उनले त्यहाँ प्रेस पनि चलाएका थिए। गोपीनाथ मैनाली, मिया अन्जद हुसेन, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डेय सबैलाई जम्मा गरेर संगठित रुपमा गजल अगाडि बढाए।’ 

भट्टले ३२ वटा गजल लेखेका छन्। तर उनले सांगठनिक रुपमा गजललाई अगाडि बढाउने अभियान थालेकाले उनको योगदान ठुलो रह्यो। 

बीचमा ३५-४० वर्ष गजलको गति रोकियो। त्यही समयमा भएको हो पौडेलको आगमन। उनले रोकिएको गजललाई गति दिए। आधुनिक कवितामा जब मोहन कोइरालाको उदय भयो। मदन रेग्मी, भूमि शेरचन जस्ता दिग्गज व्यक्तिहरुका अगाडि शृंगारिक धाराको गजल त ओझेलमा पर्‍यो । समाजको गति तीव्र रुपमा बढिरहेको थियो। 

अटोग्राफबाट साहित्य प्रवेश

समाजको गतिलाई त्यो बेलाका गजलले समात्न सकेको थिएन। त्यो कुरा पौडेलले राम्ररी बुझेका थिए। उनी युगसँग चल्न चाहन्थे र युगले मागेको गजल दिन चाहन्थे। उनी आधुनिक कविताले जे दियो गजलमा पनि त्यसकै प्रयोग गर्न थाले। जसले गर्दा गजलको उपस्थिति पनि बलियो हुन थाल्यो। 

अर्को कुरा उनले दिनेश अधिकारी, विनय रावल, सरु भक्तजस्ता समकालीन साथीहरु जोसँग उनले कविता लेख्न सुरु गरेका थिए। तर उनीहरुका अगाडि उनलाई टिकौंला जस्तो लागेन। फरक धारमा उभिएर स्थापित हुने बाटो खोज्न थाले। त्यसका लागि विकल्प थियो आफ्नो रुचिको विधा गजल अगाडि बढाउनु। त्यसैले उनले गजलमा नवीन प्रयोग गरे। फरक शैली, फरक कथन प्रयोग गरे र गजललाई स्थापित गराएरै छोडे।

विस्तारै उनको इर्ष्या गर्नेहरू जुरमुराउन थाले। उनलाई रचना लिएर कार्यक्रममा आउनु भनेर आमन्त्रित गरिन्थ्यो तर रचना वाचन गर्न दिइँदैनन्थ्यो। उनलाई निरास पार्न नखोजिएको पनि होइन। तर उनी आफ्नो यात्रामा अविचलित बनेर लागिरहे। उनको जीवनमा यस्ता पलसम्म आए कि कुनै कार्यक्रममा जाँदा अटोग्राफ दिनेको भीड नै लाग्न थाल्यो। 

‘मेरो साहित्य प्रवेश अटोग्राफबाट पनि भएको हो’, पौडेलले सुनाए। म साहित्यकारसँग नजिक हुनलाई हस्ताक्षरयुक्त फोटो संकलन गर्थे। त्यसले गर्दा धेरै कविलाई चिन्न पाए। पछि मसँगै अटोग्राफ लिनेको भीड लाग्न थाल्यो। 


एकपटक पौडेल एउटा कार्यक्रममा सरिक भएका थिए। एक जना आए र उनलाई सय रुपैयाँ दिँदै त्यसमा अटोग्राफ माग्न थाले। पौडेलले ठट्टा गर्दै यो सय रुपैयाँ मलाई दिनुस् म तपाईंलाई कागजमा सही गरिदिन्छु भने। र सोही सय रुपैयाँमा हस्ताक्षर गरिदिए। 

उनी आफ्नो युवा अवस्था सम्झिँदै भन्छन्, ‘मलाई बिहेका लागि धेरै प्रस्ताव आएका थिए। साहित्यकारहरु पनि छोरी दिन तयार हुन्थे। फणीन्द्रराज खेताला, साहित्यकार जसले जगदम्बाश्री पुरस्कार जिति सक्नुभएको छ। उहाँ पनि आफ्नो छोरी दिन तयार हुनुहुन्थ्यो। धेरैको नाम लिन मिल्दैन। बिहे गरिसकेपछि पनि मलाई बिहेका प्रस्ताव थुप्रै ठाउँबाट आएका हुन्। जसलाई मैले मेरो गजलको प्रभावका रुपमा लिन्थे र खुसी तुल्याउँथ्यो। मैले त्यसलाई मप्रतिको राग हो भन्ने बुझेको थिएँ र त्यही प्रकारले सम्मान गर्थे।’

अहिले गजलकारका रूपमा लोकप्रिय भएकाले उनी खुसी छन्। भन्छन्, ‘म मरे पनि मेरो देश बाँचिरहोस् । म गजल स्थापित भएको ठोकुवा गर्न सक्ने अवस्थामा उभिएको छु। आफ्नै आँखाले गजल स्थापित भएको हेर्न पाएँ। यो भन्दा ठूलो खुसीको कुरा मेरा लागि अरू केही हुनै सक्दैन। अहिले त गजलको बाढी आएको छ। हजार गजलकारमा सयजना बलिया गजलकार यस्ता छन्, जसले गजललाई भोलि कहाँ पुर्‍याउलान् भन्ने तस्बिर स्पष्ट छ।’

उनी गजलको बाढी आएकोमा जति खुसी छन्। बाढीसँगै आएको फोहोरप्रति ज्यादै चिन्तित छन् । ‘गजलको बाढी आएको छ। बाढीसँगै फोहोर पनि आएको छ। तर फोहोर आयो भन्दैमा आत्तिनु हुँदैन,’ उनी भन्छन्, ‘किसानको बारीमा तरकारी मात्रै हुँदैन, तरकारीसँग घाँस पनि हुन्छ। जसको किसानलाई चिन्ता हुँदैन। घाँस मिल्काइदिने हो। तरकारीको संरक्षण गर्ने हो। त्यस्तै हो गजलमा पनि राम्रो रचना आफैं अगाडि बढ्छ। कमसल रचना प्रतिस्पर्धा नगर्न नसकी बाहिरिन्छ।’ गजलका लेखक र पाठक बढे पनि समीक्षक नबढेकामा उनी चिन्तित छन्। भन्छन्, ‘गजलका समीक्षक छैनन्। भएका समीक्षक पनि प्रायोजित छन्। यो चिन्ताको विषय हो।’ 

केही समयपहिले पौडेलको स्वास्थ्यमा समस्या देखियो। २०७३ जेठ २२ गते मुटुमा समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। पछि उनले मुटुको भल्ब नै फेर्नुपर्‍यो। त्यसयता उनी पहिले जति दौडधुप गर्न सकिरहेका छैनन्। तैपनि पुस्तक विमोचन र समीक्षा लेख्ने कार्यमा भने सक्रिय छन्। स्वास्थ्यले धानेसम्म विभिन्न कार्यक्रम धाउन पनि छोडेका छैनन्। आफ्नो सिर्जनाको गति पनि रोकेका छैनन्।

स्वास्थ्यले साथ दिएसम्म साहित्यमा लागिरहने उनको योजना छ। पौडेलले जीवन अमूल्य छ भन्ने बुझेका छन् र मूल्यवान् बनाइराख्न चाहन्छन्। अहिले उनी धर्मपत्नी त्रिपुराका साथमा ग्वार्कोस्थित नवनिर्मित घरमा बस्छन्। यस्ता अथक साहित्यसाधक पौडेलको जीवनले अझै उचाइ लिन सफल होस्। जीवन मूल्यवान् बनोस्। हाम्रो शुभकामना ! 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।