एजेन्सी- फुटबल विश्वकै लोकप्रिय खेल । संसारमा यो खेल मन नपराउने मानिस ज्यादै थोरै छन् । खेलसँग फुटबल जगत्का खेलाडीहरूका प्रशंसक विश्वमा धेरै छन् । कुनै खेलाडी उत्कृष्ट खेल प्रदर्शन गरेर चर्चामा आउँछन् भने कोही खेल प्रदर्शनसँगै मैदान र मैदानबाहिर गरेका अनेकन् क्रियाकलापका कारण चर्चामा आउने गर्छन् । तर पनि ती खेलाडीका विश्वभर लाखौं प्रशंसक छन् । तिनै चर्चित खेलाडीको बाल्यकाल भने कमैलाई मात्र थाहा हुन सक्छ । हेरौं, केही चर्चित खेलाडीको बाल्यकाल :
लुका मोड्रिच
क्रोएसियाका कप्तानसमेत रहेका रियल मड्रिडका मिडफिल्डर तथा २०१८ को फिफा बालोन डि’ओर अवार्ड जितेका लुका मोड्रिचले बाल्यकाल निकै दुःखमा बितेको थियो । ६ वर्षका हुँदा उनका हजुरबुबालाई आतंककारीले गोली हानी मारेका थिए ।
बाल्कन युद्धका बेला सर्बियाका आतंककारीहरुले मोड्रिचको गाउँमा हमला गरेपछि उनको परिवार जादिर सहरमा अवस्थित एक होटलमा शरणार्थीका रुपमा रहन थाल्यो । मोड्रिच र उनकी बहिनी जस्मिनाले बाल्यकाल निकै कष्टपूर्वक बिताए । उनले होटलको कार पार्किङ एरियामा पन्चर बललाई लात्ताले हिर्काउँदै फुटबल खेल्न थाले ।
त्यसपछि उनी फुटबल प्रशिक्षणका लागि विभिन्न प्रशिक्षककहाँ पुगे । तर १० वर्षका मोड्रिच शारीरिक रुपमा कमजोर र लजालु देखिन्थे । त्यसैले धेरै प्रशिक्षकहरूले उनलाई ‘तिमी फुटबलमा फिट हुँदैनौ’ भनेर फर्काइदिन्थे ।
राम्रो पौष्टिक आहार नपाएका र कैयन् दिन भोकै बस्नुपरेकाले उनको शरीर कमजोर देखिन्थ्यो । केही समयपछि परिवारको सहयोगमा स्थानीय जादर क्लबमा उनी प्रशिक्षणका लागि गए । उनले बिस्तारै आफ्नो प्रतिभा देखाउन थाले । यसलाई नजिकबाट नियालिरहेका तोमास्लाभले उनलाई १६ वर्षको उमेरमा प्रशिक्षणका लागि क्रोएसियाको सफलमध्येको एक क्लब डिनामो जाग्रिबमा भर्ना गरिदिए । उनको फुटबल जीवनको सुरुवात त्यहीँबाट भएको हो ।
लियोनल मेस्सी
अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीको बाल्यकाल निकै कष्टकर थियो । उनका बाबु कारखानामा मजदुरी गर्थे भने आमा अर्काको घरमा सरसफाइ गर्थिन् । उनका बाबु स्थानीय क्बलमा फुटबल प्रशिक्षण पनि दिन्थे ।
त्यसैले पाँच वर्षको उमेरमै मेस्सीले आफ्ना बाबुको क्लब ग्रान्डोलीमा फुटबल खेल्न सुरु गरे । आठ वर्षको उमेरमा उनी निवेल्स वल्ड ब्वाइज नामक एक समूहमा आबद्ध भएर खेल्न थाले । ११ वर्षको उमेरपछि उनलाई बढ्ने हर्मोनको कमी हुने रोगले सतायो ।
प्रतिभाशाली खेलाडीको संकेत देखाइसकेका मेस्सीलाई कुनै पनि क्लबले उपचार खर्च दिएनन् । उनलाई बार्सिलोनाका निर्देशक काल्र्स रिस्याकलले स्पेन आएर खेले उपचारका लागि सहयोग गर्ने वचन दिए ।
उपचार हुने भएपछि मेस्सी बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भए । सन् २००० देखि उनले आफ्नो फुटबलको करियर सुरु गरेका थिए । अहिले पनि उनी बार्सिलोनाबाटै खेलिरहेका छन् ।
क्रिस्टियानो रोनाल्डो
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मारिया डोलोरेस डोस स्यान्टोस र जोस डिनिस एभिरोका चार सन्तानमध्येका कान्छा हुन् । उनका बाबुले आफूलाई सबैभन्दा मनपर्ने नायक रोनाल्डो रेगनका नाममा आफ्ना छोराको नाम राखेका थिए ।
रोनाल्डोले आफ्ना बुबामार्फत नै फुटबलमा प्रवेश गरेका थिए । बुबा एक खेल क्लबमा म्यानेजर थिए । रोनाल्डोको बाबुले धेरै रक्सी पिउने भएकाले उनको बाल्यकाल निकै दुःखद रह्यो । उनकी आमाले अर्काको घरमा खाना बनाउने र सरसफाइ गर्ने गर्थिन् ।
सन् २००५ मा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि खेल्न सुरु गर्दा उनका बाबुको मिर्गौलाको समस्याबाट निधन भएको थियो । त्यसको दुई वर्षपछि उनकी आमालाई स्तन क्यान्सरले सतायो ।
१० वर्षकै उमेरमा रोनाल्डोले फुटबलमा आफ्नो पहिचान स्थापित गरिसकेका थिए । उनको फुटबलमा यति धेरै लगाव थियो कि फुटबल खेल्न पाए खाना खानै बिर्सन्थे ।
नेयमार
व्यावसायिक खेलाडीका रूपमा रहेका आफ्ना बाबु नेयमार स्यान्तोस सिनियरसँग नेमारले फुटबल खेल सिकेका थिए । फुटसल खेलाडीका रूपमा उदाएका नेयमारलाई रियल म्याड्रिडले १४ वर्षको उमेरमा अनुबन्ध गर्न तयार भएको थियो ।
तर स्यान्तोस फुटबल क्लबले बढी तलब दिएपछि उनी सोही क्लबमा अनुबन्धित भएका थिए । चार सिजन सान्तोसमा बिताएपछि नेयमार २०१३-१४ को सिजनमा बार्सिलोना पुगे । बार्सिलोनामा पनि चार सिजन ला लिगा खेल्दै उनी कीर्तिमानी मूल्यमा पेरिस सेनट जर्मन (पिएसजी) पुगेका थिए । हाल उनी पिएसजीमा रहँदै लिग वान खेलिरहेका छन् ।
थोमस मुलर
जर्मनीका थोमस मुलर बाल्यकालमा निकै शालीन थिए । बाल्यकालदेखि नै फुटबल खेल्न थालेका उनले आफूलाई छिट्टै गोल मेसिनका रूपमा चिनाउन सफल भए । उनको ण्यही प्रतिभा देखेर ११ वर्षको उमेरमा बार्यन म्युनिखले अनुबन्ध गरायो ।
त्यसभन्दा पहिला उनी टिएसभी क्लबाट फुटबल खेल्थे । त्यो क्लबबाट एक सिजनमा भएको १ सय ६५ गोलमध्ये मुलर एक्लैले १ सय २० गोल गरेका थिए । मुलर अहिले पनि बार्यन म्युनिखबाट बुन्डेसलिगा खेलिरहेका छन् ।
केलियन एमबाप्पे
केलियन एमबाप्पे ६ वर्षको उमेरमै फ्रान्सको उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए । फ्रेन्च फुटबल फेडेरेसनले उनको प्रतिभाको कदर गरिसकेको थियो । फ्रान्सको राजधानी पेरिसको उत्तरपूर्वमा रहेको बोन्डीमा जन्मिएका एमबाप्पेका बाबु कोच थिए भने आमा पूर्वह्यान्डबल खेलाडी थिइन् ।
फान्सले सन् १९९८ को विश्वकप जितेको ठिक ६ महिनापछि उनको जन्म भएको थियो । १९ वर्षीय एमबाप्पे विश्वकै दोस्रा महँगा फुटबल खेलाडीसमेत हुन् । रुस विश्वकपबाट युवा स्टार खेलाडीको संज्ञा पाएका एमबाप्पे हाल पेरिस सेनट जर्मेन (पिएसजी) बाट खेलिरहेका छन् । उनी यस सिजनको लिग वानमा पनि निकै लयमा देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४