काठमाडौं- मंसिर लागेसँगै चिसो बढ्दा शनिबार काठमाडौं यस वर्षकै सबैभन्दा चिसो दिन रह्यो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शनिबारको बिहानको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। बिहीबार ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार ५ दशमलव ८ डिग्री पुगेको थियो।
यसअघि ३० कार्तिक शनिबार वर्षकै न्यून काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबार काठमाडौंको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो।
शुक्रबार माइनस ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको जुम्लाको तापक्रम शनिबार माइनस २ दशमलव ५ डिग्री पुगेको छ। बिहीबार जुम्लामा माइनस ४ डिग्री मापन गरिएको थियो। जुम्लामा सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। जुन वर्षकै कम तापक्रम हो।
शुक्रबार शून्य दशमलव ४ डिग्री मापन गरिएको जिरीकव तापक्रम शनिबार शून्य दशमलव ५ डिग्री पुगेको छ। जोमसोमको तापक्रम माइनस शून्स दशमलप ५ डिग्री मापन गरिएको छ। शुक्रबार जोमसोमको तापक्रम शून्यमा झरेको थियो।
आज दिपायलको तापक्रम ६ दशमलव ५ डिग्री छ भने डडेल्धुराको ३ दशमलव ७ डिग्री पुगेको छ। त्यसैगरी ताप्लेजुङको तापक्रम ५ दशमलव ५ डिग्री छ भने लुम्लेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यसैगरी आज धनगढीको तापक्रम ८ डिग्री छ भने विराटनगरको तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस छ।
आज देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौंमा आज बिहान सुर्योदय ६ बजेर ४२ मिनेटमा भयो भने सुर्यास्त बिहान ५ बजेर ९ मिनेटमा हुने भएको छ।
कष्टमा पश्चिम क्षेत्र
पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। पश्चिम क्षेत्रका कतिपय भू-भागमा कुहिरो नहट्दा चिसो बढेको हो। पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ। बुधबारदेखि उपत्यकामा घाम देख्न मुस्किल परेको थियो।
यसैगरी, तराईका सबैजसो भागमा चिसो बढेसँगै शीतलहरको त्रासमा मानिसहरु देखिएका छन्। तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ।
एक दुईदिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ। आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनुजस्ता कारणले चिसो बढेको मौसमविद् पोखरेलले जानकारी दिइन्।
बाक्लो हुस्सु र चिसो हावाका कारण तापक्रम घट्दै गएपछि सर्वसाधारणको चहलपहलसमेत घटेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४