मंगलबार, भदौ ३१, २०८२

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुसी  छन्।
 |  शनिबार, माघ २०, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

vianetvianet

काठमाडौं- काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका  कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए। कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले। त्यसलाई आकार दिन थाले। आफ्नो पहिलो अभ्यासमै उनीहरूले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे। त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे। व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेन उनीहरूका सृजना। 

Kumaribank

पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरूले पिपलको रुख नै बनाइदिए। कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे। सिन्काहरु जोडेर घर र छाना बनाइदिए। अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे। उनीहरूले बनाएको सृजनामा एउटा सुन्दर बस्ती छ। सडकमा मानिस आवतजावत गरिरहेका छन्। छेवैमा पिपलको छहारी छ। गाडी पनि देखिन्छन्। एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेकाजस्तो देखिन्छ। माथि निलो आकाशमा चराहरू स्वच्छन्द रुपमा उडिरहेका सङ्केत गरिएको छ भने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ।

झट्ट हेर्दा त्यो ‘कोलाज’नभएर सुन्दर ‘पेन्टिङ’ हो। कोलाजमा उनीहरूले आफ्नो कला प्रस्तुत गरेका छन्। केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुसी  छन्। त्यसका साथै उनीहरूले स्केच, पेन्सिल आर्टहरु पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोको कला) सिक्दैछन्। 

नजिकै बेञ्चमा रहेका अन्य विद्यार्थी पनि यसैगरी कला सृजनामा तल्लीन थिए। उनीहरुलाई सोनी राईलगायत समूहले ‘आर्ट’ सिकाइरहेका थिए।  शिक्षा र सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरूले पाठ्यपुस्तक बाहेक यसरी नयाँ सीप सिकिरहेका छन्। 

यो सीप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ। यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी पाँच सय १७  जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन्। उनीहरुलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ। विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन्। अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन्। 

Metro Mart

प्रशिक्षक सोनी राई भन्छिन्,’ अब कक्षा सकिएपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै  क्षेत्रमा जाँदा पनि आर्ट महत्त्वपूर्ण हुन्छ।  फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ।’ रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी पहिलो पटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुसी भेटिए। पहिलो पटक यस्तो कक्षामा सामेल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाई भएको बताइन्। उनले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहेकी छिन्। विद्यालय तहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सको रुपमा लैजान आवश्यक भएको बताइन्।

गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो। “यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ, विद्यार्थीहरू कला सृजना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन्, यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ”, दर्शनधारीले भनिन्।

अहिलेको यो ९० घण्टाको कार्यक्रम हो। यसमा पाँच १७ जना विद्यार्थीहरू सहभागी भएका छन्। अन्तिममा विद्यार्थीहरूले गरेका कामको प्रदर्शनी समेत गरिने तयारी छ। उनले थपिन्, ‘विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, इन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भन्ने उद्देश्य राख्ने पनि हुनुभएको छ। यो खुसीको कुरा हो। यदि डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ।’रत्नराज्य क्याम्पसका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट पाँच दिन नियमित कक्षामा सहभागी भएर एक दिन नयाँ खालको कार्यक्रममा उपस्थित हुँदा विद्यार्थीहरूमा उत्साह थपिएको महसुस आफूले गरेको बताइन्।   -रासस

प्रकाशित: Feb 03, 2024| 14:34 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्