काठमाडौं- नेपाल आइडलको भोटिङमा ठूलो चलखेल गरिएको खुलासा भएको छ। बिहीबारको प्रस्तुतीपछि भोटिङ सुरु भएपनि शुक्रबार बिहानको भोटिङमा ठूलो चलखेल भएको खुलासा भएको हो।
नेपाल आइडलका कन्टेस्टेन्ट नम्बर १० का रवि वडलार्इ भोट गर्दा अमित बराललार्इ गएको नोटिफिकेसन आएपछि भोटिङमा चलखेल भएको खुलेको हो। शुक्रबार राति १० नम्बरमा एसएमएस तथा रेस्पेक्ट एन्ड राइज एपबाट भोट गर्दा रविलार्इ नै भोट गएको नोटिफिकसन आएपनि शुक्रबारको बिहानैदेखिको भोटिङमा अमितलार्इ नोटिफिकसन आएको हो। अमितको भोटिङ कोड ०१ हो।
रवि यसअघिका सबै एपिसोडमा एक नम्बरमा थिए भने अमित बराल पटक-पटक डेन्जर जोनमा परेका प्रतिस्पर्धी हुन्। रवि मौलिकता र लोक लयमा अब्बल देखिएपछि आम दर्शकको पहिलो रोजाइमा छन्।
बिहीबार प्रस्तुतीमा रविले लिरिक्स बिगारेका थिए। तर, उनले त्यसलार्इ सहजै ट्रयाकमा ल्याए। यसै विषयलार्इ त्रुटी देखाएर रविलार्इ आउट गर्ने षड्यन्त्र भइरहेको भन्दै उनका समर्थकहरुले सामाजिक सञ्जालमा व्यापक आलोचना गर्नुका साथै माइतीघरमा प्रदर्शन गरिरहेका छन्। बिहीबार रविले लिरिक्स बिगारेसँगै उनलार्इ जोगाउन समर्थकहरुले बृहत भोटिङ अभियान नै सञ्चालन गरेका छन्। स्रोतका अनुसार उनले यस साता पनि अत्यधिक भोट पाएका छन्।
यस विषयमा कुरा गर्दा नेपाल आइडलका निर्देशक सुरेश पौडेलले प्राविधिक गडबढी भएको स्वीकार गरे। तर उनले यस विषयमा कसरी र किन भयो भन्ने कुरा खुलाउन चाहेनन्। उनले भने, 'प्राविधिक त्रुटीका कारण यस्तो समस्या आएको हो। यस विषयमा अन्य कुरा गर्न चाहान्न। अहिले इडिटिङमा छु। पछि कुरा गरौंला।'
अन्तिम पाँच जनाबीच कडा प्रतिस्पर्धा भइरहेको बेला यस्तो गम्भीर त्रुटीका विषयमा आधिकारिक धारणा बाहिर ल्याएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४