शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसिया प्यासिफिक समिटको संक्रमण नेकपा र कांग्रेसभित्र 

एसिया प्यासिफिक समिटको संक्रमण नेकपा र कांग्रेसभित्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- क्रिश्चिन प्रवद्र्धनको डिजाइनसहित हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटको संक्रमण नेपाली राजनीतिमा विस्तारै देखिँदैछ ।

यो समिटले नेकपाभित्र एक प्रकारको भुइँचालो ल्याइदिएको छ। नेकपाभित्रका एकथरी नेताहरुले शीर्ष नेतृत्वविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भइरहेका छन्। उनीहरुले नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन भन्दै कडा प्रहार गरेका छन्। यता कांग्रेसको आन्तरिक राजनीतिलाई पनि यसले तरंगित गरेको छ। हिन्दु राज्यको एजेन्डामा सद्भाव राख्ने कांग्रेसभित्रको जमात जागरुक भएको छ । 

यस्ता सम्मेलन नेपालमा यसअघि नभएका चाहिँ होइनन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेत यस्तो सम्मेलनमा प्रमुख अतिथि भएर उद्घाटन गरिसकेका छन् । तर यसपटकको सम्मेलनले सरकारको भूमिकालाई नै विवादमा पारिदिएको छ। धर्म प्रचारकबाट आयोजित सम्मेलनमा सरकार स्वयम नै सह आयोजक तथा प्रवद्र्धकका रुपमा प्रस्तुत भएपछि यो अवस्था आएको हो । 

किन विवादमा पर्‍यो सम्मेलन ? 

सम्मेलनमा सहयोग गरेर सरकार विवादमा तानियो । होली वाइन पिएर सम्मेलनमा सहभागी निकै आलोचित भए । सम्मेलनमा १५ सय जोडीले होली वाइन पिएका थिए । उक्त समारोहमा नेकपाका नेताहरू नै सहभागी भएपछि विवाद हुनु स्वाभाविकै थियो । सरकार सुरुमा सम्मेलन सहआयोजकका हैसियतमा थियो। प्रतिपक्षी कांग्रेसलगायतका दलले विरोध गरेपछि सहआयोजकको हैसियतबाट त हट्यो तर सम्मेलनमा सरकारी अधिकारीहरू आफंै आयोजक जसरी परिचालित भए ।

सम्मेलन नजिकिँदै गर्दा यसलाई धर्मसँग जोडेर हेर्न थालियो । सम्मेलनको सहआयोजक आइक्याप (राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन) थियो । नेकपा अध्यक्ष केपी शर्मा ओली, नेताहरू झलनाथ खनाल र माधव नेपाल आइक्यापका स्थायी समिति सदस्य हुन् ।  तर नेकपा नेता खनाल सम्मेलनमा सहभागी भएनन् । 

सम्मेलनले ल्यायो नेकपाभित्र रडाको  

सम्मेलनपछि नेकपाभित्र यसको साइड इफेक्ट देखा परेको छ। पछिल्लो समयमा सम्मेलनप्रति नेकपाभित्रैका नेताहरूबाट विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। यसले नेकपाको समीकरणमा समेत फेरबदल ल्याउने सम्भावना बढेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्मेलन उद्घाटनमा सहभागी भए। तर पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी भएनन् । सम्मेलनमा सरकार र पार्टी नेताहरूको सहभागिताबारे नेताहरू भीम रावल, घनश्याम भुसाललगायतले सार्वजनिक रूपमै सरकार र सम्मेलनमा सहभागी नेताहरूको आलोचना गरेका छन् । नेपाल निकट माािनएका रावल र श्रेष्ठ विरोधमा उत्रिएका छन् ।

स्रोतका अनुसार नेकपाका नेता नारायणकाजी श्रेष्ठले अर्का नेता माधव नेपाललाई सम्मेलनमा सहभागी नहुन सुझाव दिएका थिए। उनले आफू परराष्ट्रमन्त्री भएका बेला सम्मेलन आयोजना गर्न प्रस्ताव आएको तर त्यसलाई अस्वीकार गरेको जानकारीसमेत दिएका  थिए। अहिले नेकपामा नेपाल र श्रेष्ठबीच घनिष्ठ सम्बन्ध छ। 

एउटा अन्तर्राष्ट्रिय गैरसरकारी सम्मेलनको विषयलाई लिएर पार्टी  समीकरणमा समेत यसले प्रभाव पार्ने भएको छ। यो प्रकरणकै कारण ओली र नेपाल एक ठाउँमा उभिनुपर्ने अवस्था उत्पन्न भएको छ। यसरी नेकपामा प्रदेश कमिटी गठनलगायतका विषयमा रहेको एउटा विवादमा सम्मेलन पनि थपिएको छ। 

हिन्दुत्वमा मुख मिठ्याउँदै कांग्रेस

क्रिश्चिन प्रचार र प्रवद्र्धनको रणनीति सहित आयोजित सम्मेलनलाई सघाएको भन्दै सरकारको विरोध र आलोचना भएपछि प्रतिपक्ष कांग्रेसले यसलाई अवसरको रुपमा उपयोग गर्न खोज्दैछ। हिन्दुत्वको एजेन्डालाई विस्तारै अघि सारेर सांस्कृतिक सद्भाव बटुल्ने र आगामी चुनावमा यसलाई मसला बनाउनेबारे कांग्रेसभित्र आन्तरिक बहस सुरु भएको छ। 

राप्रपाले पहिलेदेखि नै हिन्दुत्व एजेन्डालाई महत्वका साथ उठाउँदै आएको छ। संविधानसभाको पहिलो निर्वाचनमा समानुपतिकतर्फ ४ सिट जितेको राप्रपा नेपालले अविछिन्न रूपमा हिन्दू राष्ट्रको मुद्दा उठाएपछि दोस्रो संविधानसभा चुनावमा २४ सिट जितेर संसद्मा चौथो पार्टी बनेको थियो। यसमा हिन्दु सेन्टिमेन्टले काम गरेको थियो। चुनावका बेला ‘एक भोट दाइलाई एक भोट गाईलाई’ भन्ने नारा देशभरि चलेको थियो। त्यसैगरी तराईतिर एक भोट गाछीमा एक भोट बाछीमा भन्ने अभियान चलेका कारण राप्रपा नेपालले त्यो सफलता प्राप्त गरेको थियो। 

यो घटनाको कांग्रेसले सूक्ष्म अध्ययन गर्दै आएको छ। उसले आउने चुनावलाई राजधानीमा भएको  एसिया प्यासिफिक सम्मेलनले क्रिस्चियानिटी बढाउन खोजेको भनेर मुद्दा बनाउने सम्भावना देखिँदैछ। अघिल्लो चुनावमा राप्रपा नेपालले २४ सिट आउने गरी भोट प्राप्त गरेको थियो । त्यो लहर कांग्रेसमा पनि नआउनला भन्न सकिन्न। बुधबार मात्रै सो पार्टीले आफ्नो आर्थिक नीति जारी गरेको छ। आर्थिक नीतिमा धार्मिक तथा सांस्कृतिक दृष्टिले मुलुकलाई अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गरिने उल्लेख छ। 

आयोजक आफैं विवादित

सम्मेलनपछि नेपालको भूराजनीतिमा समेत प्रभाव परेको छ। सम्मेलन आयोजक वल्ड पिस फेडरेसन धेरै देशमा विवादित छ। यसको मुख्य उद्देश्य क्रिस्चियन प्रचार गर्नु हो। नेपालमा आयोजित सम्मेलनमा होली वाइन पिएको विषयले फेडरेसनका सञ्चालक पनि विवादमा तानिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।