शनिबार, पुस ५, २०८२

कञ्चनपुरमा 'सिकलसेल एनिमिया' रोगको जोखिम

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

दोधारा चाँदनी- पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ। रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।

National life

स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये एक सय ९९ मा बाहक (ट्रेट) देखा परेको थियो। “बाहक (ट्रेट) देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ”, भट्टले भने, “त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।”

उनका अनुसार बाहक देखिएका एक सय ९९ मध्ये २२ महिला र २४ पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो। उनले बाहक(ट्रेट) देखा परेका महिला तथा पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए। “बाहक(ट्रेट) देखा परेका महिला र पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ”, उनले भने, “त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ।”     

हेमोग्लोबिनसँग सम्बन्धित खराबीका कारणले हुने समस्या विश्वमा पाँच प्रतिशतभन्दा बढी भएको तथ्याङ्क छ। तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो। नेपालमा पनि खासगरी चौधरी थारु समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइग्स ट्रेट रहेको पाइएको उनले बताए। 

Laxmi sunrise bank
kumari

नेपालका चौधरी थारु समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका चौधरी थारु समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको जनाएको छ। 

“सिकलसेल एनिमिया र थालेस्मिया व्यक्तिको जिनसम्बन्धी खराबीका कारणले हुन्छ, रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ”, भट्टले भने, “केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चा सिकलसेल रोग भएर जन्मने गर्छन्।” ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए।  
 
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखा पर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन्। 

प्रकाशित: Jan 28, 2024| 21:02 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्