जनकपुरधाम- २६ मंसिरमा जनकपुरमा मनाइने रामजानकी विवाहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। सप्ताहव्यापी कार्यक्रमका साथ मनाइन लागेको रामजानकी विवाहोत्सव शुक्रबारबाट सुरु हुँदैछ।
विवाहोत्सव कार्यक्रमको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए। त्रेता युगमा वैवाहिक कार्यक्रमपूर्व भगवान राम र सीतालाई जनकपुर नगर परिक्रमा गराई सर्वसाधारणले दर्शन गरेको मान्यता अनुरुप नगर दर्शन कार्यक्रम हुने गरेको छ।
विवाहोत्सवको तयारीबारे जानकारी दिन विहिबार जानकी मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी छोटे महन्त दासले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। विगतका वर्षहरु भन्दा यस वर्ष भव्य तरिकाले विवाहोत्सवको तयारी गरिएको जानकारी दिँदै दासले दश लाखभन्दा बढी तिर्थालु सहभागी हुने अनुमान रहेको बताए।
राम जानकी विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री यागी आदित्यनाथ जन्ती बनेर जनकपुुर आइरहेका कारण पनि भव्यता दिन लागिएको उनको भनाइ थियो। मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना पश्चात रंगभूमि मैदानमा आयोजना हुने स्वयंभर कार्यक्रममा सहभागी हुने उनले बताए।
स्वयंभर अवलोकन गर्न योगीका लागि निर्माण गरिएको मञ्च २२५ वर्ग फिट क्षेत्रफलको हुने बताउँदै महन्त दासले स्वयंभर हुन लागेको बेला हेलिकप्टरबाट पुष्पवृष्टीको तयारी गरिएको जानकारी दिए।
मुख्यमन्त्री योगीका साथै विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट पाँच सयको संख्यामा विशिष्ट साधुसन्तहरु जन्ती बनेर जनकपुर आउन लागेको महन्त दासले बताए। उनले भने,‘विवाहोत्सवमा हरेक वर्ष हजारौंको संख्यामा जन्ती आउने गरेका छन्। तर यस वर्ष विशिष्ट जन्ती मात्रै पाँच सय जति आउँदै हुनुहुन्छ।’
अयोध्याबाट केहि जन्ती घोडा, हाती र उँट चढेरसमेत जनकपुर आउन लागेको उनले जानकारी दिए। भारतको अयोध्याबाट धनुषाको जटही नाका हुँदै आउन थालेका भन्दै दासले नाकामा पुगेर जन्तीलाई स्वागत गर्न आग्रह गरे।
एक लाख लिटर दुधको मिठाई
विवाहोत्सवमा सहभागी हुने तिर्थालुहरुका लागि वास तथा खानाको व्यवस्थालाई समेत जानकी मन्दिरले जोडतोडले अगाडी बढाएको छ। विवाहोत्सवमा सहभागी हुन आउने तिर्थालु तथा जन्तीलाई स्वागत गर्न मिठाई लगायतका मिष्ठान पकाउने कार्य सुरु भइसकेको छोटे महन्त दासले बताए। दासका अनुसार तिर्थालु तथा जन्तीहरुका लागि एक लाख लिटर दुधको रसवरी तयार पार्न लागिएको हो। यसका साथै अन्य मिष्ठान सामग्री तयार गर्ने कार्यसमेत सुरु भइसकेको उनले जानकारी दिए।
मन्दिर सजाउन कोलकत्ताको फूल
रामजानकी विवाहोत्सव नजिकिए संगै मन्दिरसहित स्वयंभरस्थल रंगभूमि मैदानलाई सजाउने कामसमेत सुरु भएको छ। यस वर्ष विवाहोत्सवमा जानकी मन्दिरलाई रंगीचंगी बिजुलीका साथै फूलले समेत सजाउने भइएको छ। जानकी मन्दिरलाई विशेष प्रकारको फूल प्रयोग गरी सजाइने र यसका लागि भारतको कोलकत्ताबाट फूल आयात गरिएको बताइएको छ। छोट महन्त दासका अनुसार मन्दिर सजाउन करिब ७ लाख मूल्य बराबरको फूलमात्र आयात गरिएको छ।
विवाह पञ्चमी अवधिभर मदिरा निषेध
विवाह पञ्चमीलाई मध्यनजर गरी २३ मंसिरदेखि २७ मंसिरसम्म जनकपुर नगर क्षेत्रभित्र मदिरा बेचबिखन बन्द गर्ने निर्णय भएको छ। विवाहपञ्चमीको मौका छोपेर हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायतका सरोकारबलाहरुको संयुक्त बैठकले विवाह पञ्चमीलाई भव्य बनाउँदै यस अवधिभर मांस मदिरा बेचविखन बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४