काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आफ्नो कार्यकालमा आठ हजार किलोमिटर सडक निर्माण गर्ने बताएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री महासेठले आगामी चार वर्षभित्रमा राष्ट्रिय गौरवका आयोजना भित्र रहेका सडक, हुलाकी राजमार्ग, उत्तरदक्षिण(काेशी) लाेकमार्ग, उत्तर दशिण (कालीगण्डकी काेरिडाेर) लाेकमार्ग, उत्तर दशिण(कर्णाली) लाेकमार्ग लगायतलार्इ पूर्णता दिइने बताए ।
मन्त्री महासेठले पोखरा बेनी जोमसोम केरला सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै किमाथांका नाकालाई जोड्न सडक निर्माणको काम समेत द्रुत गतिमा अघि बढेको बताए ।
वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासकालाई प्राथमिकतामा राखेको भन्दै मन्त्री महासेठले दातृ निकाय तथा छिमेकी राष्ट्रहरुले सहयोग दिए सोहीबाट काम गर्ने नत्र आफ्नै स्रोत परिचालन गरेर पनि पूर्वाधारको विकासलाई अघि बढाउने दाबी गरे ।
बैठकमा सडकमार्ग, रेलमार्ग र जलमार्गका क्षेत्रमा काम गरिरहेका आयोजनाहरुले आफ्नो कार्ययोजनासहितको पत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४