काठमाडौं- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। निर्मलाको हत्याको आरोपमा काठमाडौंबाट २२ वर्षीया युवकलार्इ पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डिआइजी निरज बहादुर शाहीले पक्राउ गरेको पुष्टी गरेका छन्। उनका अनुसार कञ्चनपुरमा खटिएको सिआर्इबीको टोलीले दिएको सूचनाका आधारमा उनलार्इ पक्राउ गरेको हो। पक्राउ परेका युवकको नाम भने गोप्य राखिएको छ।
गत साउन ११ गते निर्मलाको शव फेलापरेको दिनदेखि उनी कञ्चनपुरमा नदेखिएको प्रहरीको दाबी छ। परिवारका सदस्यले भने ती युवक भारत गएको बताएका जानकारी दिएका थिए।
उनको आजै डिएनए परिक्षणका लागि नमुना संकलन गरी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। डिएनए परिक्षणको नतिजा नआउन्जेल उनलार्इ हिरासतमा राखिने भएको छ। उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको दाबी छ।
निर्मलाको हत्या भएको आज १३२ दिन भइसकेको छ। उनको न्यायको माग गर्दै दैनिक विरोध तथा प्रदर्शन भइरहेका छन्। सरकारले यसलार्इ दबाउने प्रयास गरिरहेको छ।
निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका उनका बुबा यज्ञराज पन्तको मानसिक असन्तुलन भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४