शनिबार, साउन ९, २०८३

‘बिहेको दिन पनि नारायण गोपालले झुक्यायो’  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्वरसम्राट् नारायण गोपालका समकालीन व्यक्तित्वहरूले उनका विभिन्न किस्साहरू सम्झिएर उनीप्रति श्रद्धाभाव प्रकट गरेका छन्। 

नारायण गोपालको २८ औं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार नारायण गोपाल संगीत कोषले आयोजना गरेको कार्यक्रममा उपस्थित उनका समकालीन व्यक्तित्वहरूले स्वरसम्राट्का उटपट्याङ, ठट्टा र उनीसँग बिताएका क्षण सम्झिएर भावुक बने। 

यस्तैमा नारायण गोपालको विगत पल्टाए वरिष्ठ संगीतकार कर्मा योन्जनले। उनले भावुक हुँदै भने, ‘बिहेको दिन पनि नारायणले हामीलाई झुक्यायो।’ कर्मा योन्जनले नारायण गोपाललाई भाइ भनेर सम्बोधन गर्थे। नारायण गोपाल गुर्वाचार्य र गोपाल योन्जन मित थिए। गोपाल योन्जन कर्मा योन्जनका भाइ थिए। त्यसकारण कर्मालाई नारायण गोपाल दाइ भनेर बोलाउँथे। 

कार्यक्रममा बोल्दै गर्दा कर्माको गला अवरुद्ध भएको थियो। उनले भने, ‘एक दिन नारायण दार्जिलिङ आएका बेला एक्कासि दाइ ल सुकेपोखरी जाऔं भन्यो। मैले किन भनेर सोध्दा पहिले जाऔं, सब थाहा भइहाल्छ भनेर टार्‍यो।’ यसपछि नारायण, गोपाल (गोपाल योन्जन), नगेन्द्र थापा र कर्मा सुकेपोखरीतिर लागे। करिब ४५ मिनेटको बाटो थियो। बाटोमा कर्मासँग नारायण गोपालले भनेछन्, ‘दाइ ! तपाईं मेरो गार्जियन हुनुपर्छ, आज मेरो बिहे हो।’

पेमलाको घरमा बिहेको सबै तयारी भइसकेको कर्माले सुनाए। उनले भने, ‘त्यो त मेरा लागि सरप्राइज नै भयो। त्यसअघि पहिलोपटक नारायण गोपाल दार्जिलिङ आएको थियो र एकपटकमात्रै पेमलालाई भेटेको थियो। उसले त्यही बेला बिहेको कुरा गरिसकेको रहेछ।’

त्यस्तै वरिष्ठ गीतकार नीर शाह निकै भावुक भए। उनले नारायण गोपालको आँगनीमा आउनै मन नलाग्ने बताए। उनले भने, ‘म पेसाले कलाकार, हलुंगो जिन्दगी बाँच्ने रुचाउने मान्छे, जब यो घर सम्झिन्छु अनि निकै भावुक हुन्छु र मन भारी भएर आउँछ।’ नीरले थपे, ‘नारायण गोपाल अझै जीवितै हुनुहुन्छ। उहाँले यो घरको झ्यालबाट हेरेर ‘माछा पाक्यो, लौ माछा खान आऊ’ भनेर बोलाइरहेजस्तो लाग्छ।’ 

नारायण गोपाल निकै मुडी मान्छे भएको नीर शाहको टिप्पणी छ। उनले विगत सम्झँदै भने, ‘एक दिन नारायण गोपालले ल हिँड एक ठाउँमा जाऔं भनेर मोटरसाइकल पछाडि बस्न आग्रह गर्नुभयो। उहाँले मोटरसाइकल अहिलेको सालिक भएको ठाउँमा रोक्नुभयो र यता पूरै जंगलको बीचमा ल्याएर यहाँ घर बनाउँदै छु, ल विश्लेषण गर भन्नुभयो।’ त्यस बेलदेखि नारायण गोपालसँग संगत गरेको जानकारी दिँदै उनले भने, ‘यो घरका हरेक कुनाले केही अभिव्यक्त गरिरहेजस्तो लाग्छ र म निकै भावुक हुन्छु।’

नारायण गोपालले संगीतको पुरानो परम्परालाई भत्काएर नयाँ युगको थालनी गरेको नीरले शाहले बताए। संगीत अध्येतासमेत रहेका नारायण गोपाल गायकमात्र नभएर वरिष्ठ संगितकार पनि भएको निरको दाबी छ। उनले भने, ‘गोपाल योन्जनको गायनलाई उनको संगीतले छायामा पारेजस्तै नारायण गोपालको गायकीले उनको संगीतकारितालाई छायामा पारेको हो।’ 
नीरले वरिष्ठ संगीतकार कर्मा योन्जनलाई संगीतको बिलाउन लागेको एक युगका अन्तिम पात्र भनेर सम्बोधन गरे। 

वरिष्ठ गीतकार डा. दीर्घसिंह बमले नारायण गोपालको नायकीमै अभिनय समेटिएको बताए। ‘नारायण गोपालको स्वरमै अभिनय भेटिन्छ’, उनले भने, नारायण गोपालको स्वरमा गीत सुन्दा मानिसलाई निकै भावुक बनाउँछ, रुवाउँछ कि त मनलाई आनन्द दिन्छ, मन खुसी पार्छ।’
 
बमले नारायण गोपालको शब्द चयन र शब्दभित्रको गहिरामा पुगेर स्वर भर्ने कला अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरे। 

कार्यक्रमका संगीत क्षेत्रमा क्रान्ति ल्याउन विशेष योगदान गर्ने पाँच स्रष्टालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा वरिष्ठ संगीतकार कर्मा योन्जन, गीतकार निर शाह, गीतकार डा. दीर्घसिंह बम, गीतकार विश्वम्भर प्याकुरेल र राजेन्द्र रिजाल छन्।

सम्मानित व्यक्तित्वहरूलाई कोषकी अध्यक्ष उषा शेरचनले नगदसहित सम्मानपत्र  हस्तान्तरण गरेकी थिइन्।  नारायण गोपालले एक सय ३७ गीतमा स्वर भरेका छन्। उनका हरेक गीतले एक सांगीतिक युगको प्रतिनिधित्व गरेको संगीतकर्मीले बताएका छन्। 

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोऊँ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पातझैँ उजाड भयो मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, ‘बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत नारायण गोपालले गाएका कालजयी गीत हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।