काठमाडौं- निरन्तर तापक्रम ओरालो लागेसँगै देशभर चिसो बढीरहेको छ। देशभर विगत केही दिनको तुलनामा बुधबार तापक्रम घटेको छ। जल तथा पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको मौसमी विवरण अनुसार चिसो अझै बढ्ने भएको छ।
विभागका अनुसार बुधबार पूर्वी र पश्चिमी भागका साथै मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइ अन्य स्थानमा मौसम सफा रहने छ। हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
महाशाखाले देशभर चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले ख्याल गर्न महाशाखाको आग्रह छ।
मंगलबार ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम बुधबार ६ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।
मंगलबार माइनस ४ दशलव ५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम बुधबार माइनस ३ दशमलव ५ डिग्री पुगेको छ। जुम्लाको सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। जुन वर्षकै कम तापक्रम हो।
मंगलबार माइनस १ डिग्री मापन गरिएको जोमसोमको तापक्रम बुधबार पनि माइनस १ डिग्री नै छ। मंगलबार जिरीको तापक्रम ५ दशलमव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज ४ दशमलव २ डिग्री पुगेको छ।
आज दिपायलको तापक्रम १० दशमलव ६ डिग्री छ भने डडेल्धुराको ६ दशमलव ५ डिग्री पुगेको छ। त्यसैगरी ताप्लेजुङको तापक्रम ७ दशलव ५ छ भने लुम्लेको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यसैगरी आज धनगढीको तापक्रम १० डिग्री छ भने विराटनगरको तापक्रम १२ डिग्री सेल्सियस छ।
मंसिर १९ गते बुधबार देशका पुर्वी र पश्चिमि भु-भाग साथै मध्य पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४