मंगलबार, पुस १, २०८२

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

चितवन- भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ।

National life

गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई छ करोड ३७ लाख रूपैयाँ अनुदान दिन लागेको हो। उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन्।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो। उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो। त्यसपछिका दुई वर्ष प्रतिलिटर एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन रूपैयाँ अनुदान दिइँदै छ। गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ।

बजेटमा पाँच करोड ५० लाख रूपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन्। उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो।

किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ। अघिल्लो वर्ष दूधमा अनुदान पाँच करोड १० लाख रूपैयाँ दिइएको थियो। दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो। उनले भनिन्, 'अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ।'

Laxmi sunrise bank
kumari

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ। अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको बताए। उनले भने, 'हामीले बाँड्ने रकम ठूलो छ। धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ।' कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ। यससँगै प्रक्रिया अघि बढाएर बैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्‍याइने उनले बताए। 

चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि आठ करोड विनियोजन गरेको थियो। पूरक बजेटमार्फत ८७ लाख रूपैयाँ थप गरिएको हो। यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ।

पशुचौपायलाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ। निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ। 

प्रकाशित: Jan 11, 2024| 21:02 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्