काठमाडौं- अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन्। कुनैबेला 'लिटल बुद्ध' उपनामले चिनिएका रामबहादुर बमजनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार महाराजगन्जस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनी बसेको घरबाट ठूलो परिमाणमा नेपाली र विदेशी मुद्रा फेला परेको थियो।
प्रहरीका अनुसार बमजन दुई महिनादेखि आफ्नी श्रीमती र परिवारसहित काठमाडौंमा बस्दै आएका थिए। बमजन बसेको घरमा खानतलासी गरिएको र तीन करोड तीन लाख नेपाली रुपैयाँ तथा झन्डै ३०.९२ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको हो। प्रहरीका अनुसार उनीबाट बरामद विदेशी मुद्रा १७ देशका हुन्।
प्रहरीले बरामद भएको मुद्राको स्रोतबारे अनुसन्धान भइरहेको जनाएको छ। नेपाली र विदेशी मुद्रा घरमा भएको शेफमा फेला परेको प्रहरीको दाबी छ। प्रहरीले शेफ खोलेर बरामद भएका नोट गणना गरेको थियो।
बमजनले विभिन्न जिल्लामा आफ्ना आश्रमहरू सञ्चालन गरेका थिए। सिन्धुपाल्चोकको बाँडेगाउँबाट तीन जना र निजगढबाट एक जना हराइरहेको विवरण सार्वजनिक भएका थिए। प्रहरीका अनुसार बमजनको साथबाट दुई वटा महँगा गाडी समेत बरामद भएका छन्। साथै उनले पाँच करोड मूल्य पर्ने एउटा नयाँ गाडी 'बुक' गरेको र त्यसका लागि तीन करोड नगद नै भुक्तानी दिइसकेको प्रहरीले बताएको छ।
उनले हाल अर्का एक जना व्यक्तिको नाममा रहेको विलासी गाडी चढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनको साथबाट प्रहरीले विभिन्न ब्रान्डका १४ वटा मोबाइलहरू, पाँच वटा आइप्याड र ट्याबहरू, ल्यापटप र २० वटा पेनड्राइभसहितका उपकरण बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बमजनविरुद्ध सर्लाही अदालतमा विचाराधीन रहेको बालयौन दुराचारको मुद्दासहित अन्य कसुरहरूमा पनि अनुसन्धान हुने जनाएको छ।
प्रहरीले विभिन्न आश्रमहरूबाट कम्तीमा चार जना हराइरहेको भन्ने उजुरी आएको र त्यसबारे पनि अनुसन्धान हुने जनाएको छ। प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी छ।
मध्यतराईको बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चाको चुलीमा पुगेका थिए। त्यतिबेला १६ वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। तर पछि उनको नाम विभिन्न विवादमा मुछिन थाल्यो।
पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही "अनुयायी" त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो। त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।
विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो। सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।
बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।
उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ। 'उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,' वेबसाइटमा उल्लेख गरिएको छ।
सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए। उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम दिएका थिए।
तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।
ध्यानमा रुचि र बुद्धसँगको तुलनाका कारण उनी बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो। अनुयायीहरूले धार्मिक ध्वजापताका चढाउन थालेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।
नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे। देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगेको पाइन्छ।