NadaNada
आइतबार, भदौ १, २०८२

खाद्य कम्पनीले पाएन लक्ष्यअनुसार धान

 |  बिहीबार, पुस २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

vianetvianet

कञ्चनपुर- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्य अनुसार धान खरिद गर्न असफल भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो।

सरकारले तोकेभन्दा बजारमा धानको मूल्य बढेपछि धान बिक्रीका लागि किसान आउनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। ‘खरिद सुरु गरेको एक महिनासम्म किसान धान बिक्रीका लागि आए। त्यसपछि बजारमै राम्रो मूल्य पाएपछि अहिले बिक्रीका लागि किसान आएका छैनन्’, उनले भने, ‘किसान नआउँदा अहिले धान खरिद गर्ने कार्य ठप्प जस्तै छ।’ खाद्य व्यवस्थाले कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको थियो। यसवर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखिएको थियो। यद्यपि लक्ष्यअनुसार धान पाउन नसकिएको सूचना अधिकारी उपाध्यायले बताए।

उनका अनुसार अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको दुई हजार नौ सय ५० क्विन्टल धान खरिद गरिएको छ। प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद गरिएको हो। यो मूल्य गतवर्ष भन्दा बढी हो। गतवर्ष रु दुई हजार नौ सय ६७ प्रति क्विन्टलका दरले धान खरिद गरिएको थियो।

गतवर्ष पनि खाद्यले लक्ष्य अनुसार धान पाएको थिएन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार गतवर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि खाद्यले तीन हजार २१ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । धानको मूल्य राम्रो पाएपछि गाउँमै धान बेचेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले बताए।
‘नजिकमा खाद्यको खरिद केन्द्र पनि छैन। धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भने, ‘त्यसैले खरिद केन्द्र टाढा हुँदा गाउँमै धान बिक्री गरेका छौँ।’ डेढ बिघा जमिनमा धानखेती गर्नुभएका उहाँको यसपटक उत्पादन वृद्धि भएको छ। उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ।

प्रकाशित: Jan 11, 2024| 08:02 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्