शुक्रबार, साउन २, २०८२

कृषि क्षेत्रको बजेट कम्तीमा ५ प्रतिशत हुनुपर्छ : आरजु देउवा

 |  बुधबार, पुस २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन्। समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको जानकारी गराएपछि सभापति राणाले बजेट बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन्। बजेट बढाउनका लागि समितिले अर्थ मन्त्रालयमा अनुरोध गरेर पत्र पठाउने उनको भनाइ थियो। 

‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि यो लगानी हो, ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्,’ उनले भनिन्, ‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेको छ, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छाैं, समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ।’ 

बैठकमा कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्याहरू निराकरण गरेर जानुपर्ने बताए। कृषिको आद्युनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिरहेको जानकारी मन्त्री भुसालले दिएका थिए। सभापति राणाले संविधानको भावना र भोगाईबाट सिकेर ओएमएन गर्न अनुरोध गरिन्। ‘प्राविधिक नियामक विज्ञहरु केन्द्रबाट हुने र सेवा प्रवाह प्रदेश र स्थानीय तहबाट हुनेगरी व्यवस्थापन होस्,’ उनले भनिन्। 

मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राखेका थिए। सभापति राणाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राखेकी थिइन्। ‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन्। समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ। केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं,’ उनले भनिन्। 

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाइने

कृषि समितिले किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ। यसका लागि सभापति राणाले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन्। भारतीय दूतावासले समितिको अनुरोध स्वीकार गर्दै हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरनरी डाक्टरलाई तालिमका दिने भएको हो। 

‘किसानको बाली र उत्पादन नष्ट गर्ने बाँदरलाई व्यवस्थापन गर्नका लागि नेपालका १० जना भेटेरनरी डाक्टरलाई मास्टर तालिम र ५ देखि १० जना रेन्जर र वन्यजन्तु स्काउटहरुलाई तालिमका लागि भारतको हिमाञ्चल प्रदेश पठाउँछौं,’ सभापति राणाले भनिन्, ‘यसका लागि पशुपक्षी सचिव र वन मन्त्रालयको सचिवसँग कुरा भइसकेको छ। एक डेढ महिनाभित्रै टोली पठाउँछौं।’ 

विधेयकको दफावार छलफल समितिमै

समितिले प्रतिनिधिसभाबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा दफावार छलफल मूल समितिमै गर्ने निर्णयसमेत गरेको छ। २५ भदौमा गठन भएको उपसमितिको समय सकिँदा पनि दफावार छलफल नभएपछि बुधबारको बैठकले मूल समितिमै छलफल अगाडि बढाउने निर्णय गरेको समिति सचिव शिवदत्त बरालले जानकारी दिए।

प्रकाशित: Jan 10, 2024| 18:23 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्