शनिबार, साउन ९, २०८३

राजनीतिक स्वार्थमा रुमल्लिँदै ‘स्थानीय सरकार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको निर्धारित समयभन्दा पाँच महिनापछि बल्ल नगरसभा सम्पन्न भयो । गत असार १० गत सकिनुपर्ने नगरसभा पछि धकेलिनु एउटै कारण हो– जनप्रतिनिधिको राजनीतिक स्वार्थ । नेकपाको दुई तिहाई रहेको नगरपालिकामा जनप्रतिनिधि दुई खेमामा विभाजित भए । यही कारण कर्मचारीले समयमै तलब पाएनन् । जनप्रतिनिधिहरू राजनीतिक स्वार्थमा रुमल्लिँदा विकास निर्माण ठप्प भयो ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका कार्यालयमा पनि विगत ६ महिनादेखि तालाबन्दी छ । गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गाउँपालिकाका २, ३ र ९ वडाका जनतप्रतिनिधिको अगुवाइमा कार्यालयमा तालाबन्दी गरेका हुन्। गत वैशाख ३१ गतेको गाउँसभाले सानाखोलामा रहेको गाउँपालिकाको केन्द्र लुदाह सार्ने निर्णय गरेपछि जनप्रतिनिधिकै अगुवाइमा स्थानीयवासीले तालाबन्दी गरेका हुन् । कार्यालयमा ताला लागेपछि गाउँपालिकाले सम्पर्क कार्यालयमार्फत काम चलाइरहेको छ । सबैलाई पायक पर्ने स्थानमा गाउँपालिकाको केन्द्र तोक्न नसक्नुको कारण पनि राजनीतिक स्वार्थ नै देखिएको छ ।

विवादमा तानिएका बनगाड र जुनीचाँदे उदाहरण मात्र हुन् । पछिल्लो समय जनप्रतिनिधिहरू राजनीतिक स्वार्थमा रुमल्लिँदा कर्णालीका अधिकाँश स्थानीय तहमा विकास निर्माण प्रभावित भएका छन् । कर्मचारी भर्नादेखि योजना छनोटसम्ममा राजनीतिक स्वार्थ बाझिँदा स्थानीय तह विवादका तानिएका हुन् । जनप्रतिनिधिको राजनीतिक स्वार्थका कारण एकातिर विकास निर्माणले गति लिन सकेको छैन भने अर्काेतिर जनतामा निराशा बढेको छ । जसका कारण जनप्रतिनिधिको क्षमतामा समेत प्रश्न उठ्न थालेको छ । स्थानीय तह विवादमा तानिँदै गर्दा कतिपय दलहरूले राजनीतिक भविष्य खतरामा परेको भन्दै जनप्रतिनिधिहरूलाई सचेत बनाउन थालेका हुन् ।

पारदर्शितामा प्रश्न ?

मंसिर ५ गते दैलेखको भगवतीमाई गाउँपालिकामा स्थानीय बासिन्दाले तालबन्दी गरे । गाउँपालिकाले २०७४÷०७५ को आर्थिक कारोबार सार्वजनिक गरेको छैन । तालाबन्दीको मुख्य कारण अध्यक्षले आर्थिक अनिममितता गरेको भन्ने छ । गाउँपालिका अध्यक्ष दानबहादुर थापामाथि योजना छनोटदेखि कर्मचारी नियुक्तिसम्म एकलौटी गरेको आरोप पनि छ । सर्वपक्षीय वार्तापछि गाउँपालिकाको ताला खुल्यो तर नागरिकसँग अध्यक्षको जनविश्वास भने केही रुपमा भए पनि घट्यो । 

दैलेखकै भैरवी र नौमूले गाउँपालिकामा पनि केही समयपहिले तालाबन्दी भयो । अध्यक्ष र कर्मचारीले एकलौटी काम गर्न खोजेको भन्दै दैलेखको नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंह आफैंले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिन् । भैरवीका गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले योजना छनोटदेखि कर्मचारी नियुक्तिमा एकलौटी गरेको लगायतका आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरे ।

आर्थिक पारदर्शिता, कर्मचारी नियुक्ति र सरुवा, योजना छनोटलगायतका विषयमा जनप्रतिनिधिहरू  विवादमा तानिएपछि कर्णालीका अधिकांश स्थानीय तहमा विकास निर्माणका काम प्रभावित भएका छन् । 



सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको नगरसभा लामो समयसम्म बस्न नसक्नुको कारण पनि आर्थिक पारदर्शिता नै हो । नगरप्रमुख गोविन्दकुमार पुनले ठूला आयोजनामा भ्रष्टाचार गरेर विकास योजनाको खर्च विवरण पेस गर्न नसकेको उपप्रमुख मञ्जु ऐरीले आरोप लगाइन् । तर नगरप्रमुख पुनले भने अनुगमन संयोजक ऐरी नै भएका कारण आफूले नभई उपप्रमुखले नै भ्रष्टाचार गरेको आरोप लगाए । प्रमुख र उपप्रमुखको यही विवादका कारण कांग्रेसले जनतालाई सडकमा उतार्‍यो । नेपाली कांग्रेस सल्यानका उपसभापति निमबहादुर वलीले सार्वजनिक रूपमै जनप्रतिनिधिहरूलाई भ्रष्टाचारीको आरोप लगाए ।

सुर्खेतका चार वटा स्थानीय तहले पहिलो त्रैमासिकको खर्च विवरण बुझाउन सकेका सकेनन् । चारै तहमाथि पारदर्शिताका विषयमा प्रश्न उठ्यो । सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका र लेकवेशी नगरपालिकाले पहिलो त्रैमासिक खर्चको विवरण बुझाएका छैनन् । पहिलो त्रैमासिक खर्च विवरण पेस नगरेपछि चारवटै स्थानीय तहको दोस्रो किस्ताको निकासा रोकिएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ सुरु भएसँगै तीन महिनाभित्र चालु र पुँजीगत खर्चका लागि अनुदान लिएको बजेटको खर्च विवरण पेस गर्नुपर्ने हुन्छ । तर स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण पेस गरेका छैनन् । यसरी जनप्रतिनिधिकोे अपारदर्शी व्यवहार र राजनीतिक स्वार्थले स्थानीय तह विवादमा छन् ।

कर्मचारीमा अस्थिरता

स्थानीय तहको चुनाव हुँदा रामप्रसाद शर्मा सुर्खेतको लेकबेसी नगरपालिकामा कार्यकारी अधिकृत थिए । चुनावपछि नगरपालिकामा जनप्रतिनिधि आए । केही समय शर्मा त्यहीं बसे । तर लामो समय बस्न नसक्ने वातावरण भएपछि उनी दैलेख सरुवा भए । शर्मासँगै नगरपालिकामा कार्यकारी अधिकृत आउने र केही समयपछि जाने क्रम चलिरहेको छ । हाल लेकबेसीका चौथो नम्बरमा कमलप्रसाद पौडेल कार्यकारी अधिकृत रुपमा आएका छन् । उनी पनि कति दिन टिक्छन् त्यो भने भन्न सक्ने अवस्था छैन । यसरी कार्यकारी अधिकृत अस्थिर हुने लेकबेसी नगरपालिका एक्लो भने होइन ।

सुर्खेतका ९ स्थानीय तहमध्ये ८ स्थानीय तहमा पटकपटक कार्यकारी अधिकृत परिवर्तन हुँदै आएका छन् । गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, चिङगाड गाउँपालिका र पञ्चपुरी गाउँपालिकामा हालसम्म तीन–तीन कार्यकारी परिवर्तन भइसकेका छन् । त्यस्तै वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा दुईवटा कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन् । बितेको २० महिनामा सबैभन्दा बढी कार्यकारी परिवर्तन गरेर लेकबेसी भने पहिलो नम्बरमा परेको छ । तर सुर्खेतकै सिम्ता गाउँपालिकामा भने कार्यकारी परिवर्तन भएका छैनन् । जनप्रतिनिधि र कर्मचारीबीचको खटपटका कारण कतिबेला कार्यकारी परिवर्तन हुन्छन् त्यसको कुनै ठेगान छैन ।

कर्णालीका अन्य स्थानीय तहमा पनि राजनीतिक खटपट र भौगोलिक विकटताका कारण कर्मचारी टिक्न सकेका छैनन् । विशेष गरी जनप्रतिनिधिहरूले पालिकामा राजनीति गर्न खोजेपछि एकातिर विकास निर्माण ठप्प भएको छ भने अर्कातर्फ सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

केन्द्र विवाद कायमै

जाजरकोटको छेडागाड नगरपालिकाले केन्द्र विवाद टुंग्याउन सकेको छैन । नगरपालिकाको केन्द्र कार्कीगाउँ, मनाघाट, चौखीचौर कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिहरू विभाजित हुँदा केन्द्रको टुंगो लाग्न नसकेको हो । सुर्खेतको बराहताल गाउँपालिकाले पनि केन्द्र विवाद टुंगिएको छैन । गाउँपालिकाको केन्द्र बराहताल कि ओदालता भन्ने विवाद हुँदा एक पक्ष नगरसभाबाट बाहिरियो । केन्द्रका विषयमा विवाद भएपछि गाउँपालिकाको सभा पनि होहल्लाकै बीचबाट सम्पन्न भयो । सभाको बैठकमा बहुमत सदस्यहरूले केन्द्र टुंगो लगाउन माग गरे पनि अध्यक्ष तेजबहादुर बस्नेत बीचमै बाहिरिए । उपाध्यक्ष शोभा शर्माले सभा सम्पन्न भएको घोषणा गरिन् । त्यो विवाद कायमै छ । बराहताल र छेडागाड मात्रै होइन । 

बहुमतका आधारमा केन्द्रको टुंगो लगाए पनि जाजरकोटका जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, डोल्पाको ठूलीभेरी नगरपालिकालगायतका स्थानी तहको केन्द्रलाई जनताले अस्वीकार गर्दै आएका छन् । जाजरकोटको कुशे गाउँपालिकामा केन्द्र विवादले तोडफोड र तालाबन्दीसमेत भएको थियो । स्थानीयबासीका विपक्षमा गाउँसभाबाट निर्णय भएपछि सर्वसाधारणले गाउँपालिकामा आक्रमण गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।