शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रले महन्थलाई ‘बाहुनवादी’ भनेपछि राजपामा भाँडभैलो

महेन्द्रले महन्थलाई ‘बाहुनवादी’ भनेपछि राजपामा भाँडभैलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका एक अध्यक्षले अर्का अध्यक्षलाई ‘बाहुनवादी’ भनेर आक्रोश पोखेपछि पार्टीमा भाँडभैलो मच्चिएको छ। मधेसी ६ राजनीतिक दल मिलेर राजपा गठन भएदेखि अध्यक्ष मण्डलको संयोजक भएका महन्थ ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ‘ब्राह्मण’ लाई मात्र अवसर दिएर पार्टीलाई बाहुनवादी बनाएको आरोप लगाएपछि पार्टीभित्र विवाद चुलिएको हो।

पार्टी एकीकरण हुँदा प्रत्येक दुई महिनामा पालैपालो पार्टी अध्यक्ष मण्डलका सदस्यमध्येबाट एकजना संयोजक बन्ने सहमति भएको थियो। तर, अध्यक्ष मण्डलका सदस्यहरुको समझदारीमा ठाकुरलाई नै संयोजक मान्दै आए पनि ४ मंसिरको बैठकले संयोजकमा राजेन्द्र महतोलाई चयन गरेको थियो। 

४ मंसिरमा बसेको अध्यक्ष मण्डल बैठकमा अध्यक्षता गरिरहेका संयोजक ठाकुरलाई अर्का सदस्य रायले पार्टीले कुनै लाभको पदमा बाहुनलाई मात्र अवसर दिएको भन्दै आलोचना गरेका थिए। बैठकमा सहभागी एक सदस्यका अनुसार रायले ‘राजपामा मधेसका कुनै जातका मान्छे नै नभएजस्तो गरी बाहुनलाई मात्र अवसर दिएर पार्टीलाई बाहुनको पार्टी बनाउन खोजेको’ बताएका थिए। 

रायले ठाकुरको व्यवहार बाहुनवादी भनेर झोक्किएपछि ठाकुर चिढिएका थिए। ४ मंसिरको बैठकले बहुमतका आधारमा अध्यक्ष मण्डलको संयोजकमा महतोलाई जिम्मेवारी दिने निर्णय गरेपछि ठाकुर बैठकमा सहभागी भएका छैनन्। महतोले अध्यक्ष मण्डलको बैठक ९ मंसिरमा राखेका थिए। सो दिन अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव गृहजिल्लाबाट आउन ढिलाइ गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

आफूलाई जातिवादको आरोप लागेपछि रायसँग चिढिएका ठाकुरले आफूलाई अपमानित गरिएको भन्दै माफी माग्नुपर्ने माग गरेका छन्। रायले २ नम्बर प्रदेश सरकारको नीति आयोगको सदस्यमा सुरेन्द्र झा तथा पार्टीको महासचिव र सहमहासचिवमा नियुक्त भएकामध्ये सबैको पृष्ठभूमि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) भएको र धेरैजसो बाहुन भएको भन्दै आलोचना गरेका थिए।
 

महन्थ ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ‘ब्राह्मण’ लाई मात्र अवसर दिएर पार्टीलाई बाहुनवादी बनाएको आरोप लगाएपछि पार्टीभित्र विवाद चुलिएको हो।


आफूलाई जातिवादी भएको आरोप लागेको भन्दै रिसाएका ठाकुरलाई मनाउन अध्यक्ष मण्डलका संयोजक महतो र अर्का सदस्य शरतसिंह भण्डारीले धेरै पटक पहल गरिसकेका छन्। तर, आफ्नो चित्त दुखेको भन्दै ठाकुरले विभिन्न गुनासो र माग गरेको बुझिएको छ। 

स्रोतका अनुसार ठाकुरले अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्दा अध्यक्ष मण्डलका सदस्य अनिल झाले असहमति जनाएको, आफू संसदीय दलको नेता समेत भएकाले अरू अध्यक्षभन्दा वरिष्ठ भएकाले सोहीअनुसारको मर्यादाक्रम मिलाउन भनेका छन्।

निवर्तमान अध्यक्ष ठाकुरको माग पूरा गर्न महतो र भण्डारीले ठाकुरलाई पार्टीको वरिष्ठ नेता, सर्वोच्च नेता वा शीर्ष नेताको सम्मान दिने विषयमा छलफल भइरहेको छ। ठाकुर महतो र भण्डारीको अनुनय स्वीकार्दै १४ मंसिरका दिन अध्यक्ष मण्डलको बैठकमा उपस्थित भएका थिए।

आफूलाई दाँत दुखेर समस्या भएको तर, बाहिर नकारात्मक सन्देश जाने भएकाले मात्र उपस्थित भएको भन्दै उनी एकैछिन बसेर बाहिरिएका थिए। उनले आफूले पार्टी अध्यक्ष मण्डलका संयोजक महतोलाई असहयोग नगरेको भनेर देखाउन मात्र आएको बताएका थिए। पार्टी अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा सहभागी भएका ठाकुरलगत्तै लैनचौरस्थित भारतीय दूतावास गएका थिए।

स्रोतका अनुसार ठाकुरले सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेट गरेका थिए। राजदूत पसेर फर्किएका ठाकुरले त्यसपछि आफू भारत जाने सूचना महतोलाई दिएका थिए। स्रोतका अनुसार ठाकुर आइतबार उपचार गर्न भारतस्थित मेदान्त अस्पताल गएका छन्। 

ठाकुरको गत वर्ष चैत अन्तिम साता मुटुको धमनीमा स्टेन राखिएको थियो। ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारत गएको पार्टी प्रवक्ता केशव झाले बताए। राजपामा महतो, ठाकुर, राय, भण्डारी, राजकिशोर याादव र अनिल झा गरी ६ जना अध्यक्ष मण्डलमा छन्। राजपामा मधेसी समुदायमा पनि ब्राह्मण समुदायका नेताले मात्र अवसर पाएको भन्दै ठाकुरमाथि आलोचना हुँदै आएको छ।

ठाकुर समूहका नेताहरूले भने अध्यक्ष मण्डलका अन्य सदस्यहरूले आफू निकटका, नातागोता र जाति हेर्ने गरेको आरोप लगाउँदै आएका छन्। अध्यक्ष मण्डलका सदस्य रायले समेत प्रदेश मन्त्रीमा आफ्नो पुरानो पार्टी तमसपाबाट आएका रामनरेश राय यादवलाई सिफारिस गरेका थिए।  

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।