भैरहवा– प्रदेश पाँच सरकारले प्रदेशका बेरोजगार युवाहरुलाई जग्गा दिने नयाँ योजना ल्याएको छ । बेरोजगारहरुलाई जग्गा उपलब्ध गराएर उत्पादनमुखी कामसंग जोड्न सरकारले सहयोग गर्ने कार्यक्रम ल्याएको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जनाएका छन् ।
मंगलबार देखी भैरहवामा शुरु भएको प्रदेशस्तरीय प्रशसंनीय खोज सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भने , ‘जग्गा जमिन नभएको बेरोजगार युवालाई प्रदेश सरकारले जग्गा पनि दिन्छ, त्यसको भाडा पनि तिरीदिन्छ र काम पनि सिकाउँछ । ’
सरकारले प्रदेशका कुनैपनि जग्गा बाझो नहोऊन् र कुनैपनि युवा बेरोजगार नरहुन् भनेर यस्तो कार्यक्रम लिएको जनाए । सरकारले उपलब्ध गराउने जग्गामा कृर्षी उद्यम गनुपर्ने सरकारको नीति छ । बेरोजगार युवाले प्रदेश सरकारको निकायमा सम्पर्क गर्नुपर्ने छ ।
प्रदेशको समृद्धिको आधार कृर्षी र पर्यटन भएकोले सरकारले प्रदेशमा भएको विद्यमान २९ प्रतिशत गरिबीको दर आगमी ५ वर्षभित्र १० प्रतिशतमा झार्नेगरी कार्यक्रम गर्ने पनि मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
उनले भने, ‘प्रदेश ५ मा अहिले २९ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी छन् । आगमी ५ वर्षभित्र यो प्रतिशत १० मा झार्न हामीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत प्रदेशका ३५ पालिकामा विभिन्न गरिबी निवारणका कार्यक्रम सन्चालन गर्दैछौं । त्यसमा कृर्षी र पर्यटन उद्योग मुख्य हुन् । ’
३ दिन सम्म चल्ने प्रशंसनीय खोज सम्मेलनको उद्घाटन समारोहलाई डेभिड कोपीराईडर सेन्टर, अमेरिकाका निर्देशक प्राध्यापक लिन्डसी गुडवीनले मानबीय सकारात्मक पक्षलाई बढवा दिने ध्ययेले विश्वभरी प्रशसंनीय खोज अभियान चलाइएको बताईन् ।
सो अवसरमा सम्मेलन आयोजक संस्था परिकल्पना नेपालका अध्यक्ष रमेश कुमार अधिकारीले समाजमा बढ्दै गएको नकारात्मक प्रवृति , सोंच र चिन्तनलाई परिवर्तन गर्दै सकारात्मक शैली, आचरण विकास गर्ने उद्धेश्येले सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनमा अमेरिकी प्राध्यापक लिन्डसी गुडवीन प्रमुख सहजकर्ताको रुपमा रहनुहुनेछ । यसैगरी संघीय प्रणाली अन्र्तगत सुरक्षा, न्याय र विकासकालागी शासकीय रुपान्तरणको विषयमा नेपाल सरकारका पुर्व मुख्य सचिव दामोदर गौतम र जनताको फाइदाकोलागी संगठानात्मक रुपान्तरण विषयमा नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसींगले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४