काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। मंगलबार बिहान अध्यक्ष खनालले राजीनामा दिएका हुन्।
पछिल्लो समय टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), स्मार्टसेल खारेजी र एनसेलको सेयर खरिदबिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ।
टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबनसमेत अगाडि बढाएको छ। त्यस्तै एनसेल खरिद-बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ। छानबिनकै क्रममा अध्यक्ष खनालले राजीनामा दिएका हुन्।
खनालको कार्यशैलीलाई लिएर पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा असन्तुष्ट थिइन्। उनीमाथि अनियमितताको आरोप लागेपछि मन्त्री शर्माले केही समय अगाडि स्पष्टीकरण सोधेकी थिइन्। मन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकमा बर्खास्त गर्ने तयारी गरेपछि खनालले राजीनामा दिएका बताइएको छ।
खनाललाई प्रधानमन्त्री कार्यालयले पनि सोमबार छलफलमा बोलाएको थियो। छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समेत उनको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो।