'म त लालीगुराँस भएछु,
वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु'
नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।
'केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ', 'आँखा छोपी नरोउ भने भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ', 'झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी', 'मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु', 'यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो' लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै उचाइका छन् ।
विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उनले आफ्नो साङ्गीतिक यात्र शुरु गरेका थिए । सबैभन्दा पहिला उनले साथी मणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलो पटक उनले त्रिचन्द्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।
उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।” उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उनी आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थिए।
'यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ ए... जाने नि निठुरी'
नारायण गोपाल स्वयंको शब्द र स्वरमा रहेको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिएका थिए। आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउँछन् ।
“उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो”, मुकारुङ थप्छन्, “उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।” उहाँलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उनी बताउँछन् । “आजभोलि नपिउने त को नै होलान र १”, उहाँले आक्रोस पोखे ।
नारायण गोपालको भेट दाजर्लिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।
नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले दार्जिलिङका हरिभक्त कटुवालका गीतसमेत गाउएका थिए ।
'जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ' बोलको गीत उनले गाएका थिए । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उनी निःसन्तान भए पनि उनी पारिवारिक कारणबाट कहिल्यै निराश भएनन् ।
विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै चाकडी गर्न रुचाएनन् । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उनी कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्दैनथ्ये । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावका थिए ।
नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको भएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँछन् । सङ्गीतकार रायमाझी भन्छन्, “उनको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उनले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उनी बताउँछन् । आफूले एकपटक भेटेको व्यक्तिलाई उनले कहिल्यै पनि बिर्सने गरेका थिएनन्।
नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत स्वर दिएका थिए । उनले गाएको 'जाग लम्क चम्क हे नौजवान हो' बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । 'नारायण गोपाल एकल साँझ' ले उनलाई अझै चर्चाको शिखरमा पुर्याएको थियो ।
उनले आफ्ना समकालीन 'तारादेवी', 'नातिकाजी', 'शिवशङ्कर', 'रत्नदास', 'प्रेमध्वज प्रधान', 'बच्चु कैलाश' लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका थिए । 'हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला' बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका थिए । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।
उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका थिए । 'वियोग', 'देशभक्ति' र 'आशा' उनका गीतका प्रमुख विशेषता हुन् । उनले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाएका थिए । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उनीमा कहिल्यै पनि घमण्ड भने थिएन ।
नाचघरमा कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए । सोही भेटमा नारायण गोपालले 'अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु' भनेको कुरा अझै सायमी स्मरण गर्छन् । पछि उनले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएका थिए ।
सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उनी बताउँछन् । उनी भन्छन्– “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उहाँ बताउँछन् । उनी थप्छन्, “उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो ।” नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४