बिहीबार, पुस ३, २०८२

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

नवलपरासी- हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ। पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।

National life

जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए। उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो।

‘धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ’, पोखरेलले भने, ‘जिल्लामा रहेका साबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो।’

उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो। नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१.३ मेट्रिक टन गोदाममा थन्किएको छ। प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएको छैनन्।

सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन्। पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ।

Laxmi sunrise bank
kumari

कम्पनीले अहिलेसम्म चार पटक गरी मल वितरण गरेको छ। प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोखरेलले बताए। ‘रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ’, उनले भने, ‘यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्नुहुनेछ।’

कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ। जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ। हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो।

प्रकाशित: Jan 07, 2024| 15:00 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्