आइतबार, चैत २९, २०८२

बरहथवा घटना: मृतकका परिवारलाई १० लाख राहत, छानबिन समिति गठन

 |  शनिबार, पुस २१, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

काठमाडौं- गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रालयले सो घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ। 

National life

मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिएका छन्। 'उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ (सात) दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको मिति २०८०/०९/२१ गतेको निर्णयानुसार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ।

यस्तै नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको पनि विज्ञप्तिमार्फत जनाएका छन्।

अस्पताल स्तरोन्नति गर्ने-नगर्ने विषयमा शुक्रबार भएको छलफल उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर साहको मृत्यु भएको थियो। उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको थियो। अहिले त्यस क्षेत्रमा निषेधाज्ञा जारी छ।

kumari

प्रकाशित: Jan 06, 2024| 19:17 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्