मंगलबार, भदौ १०, २०८२

५० प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरण वितरण

 |  शनिबार, पुस २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

vianetvianet

गण्डकी- व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ। पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो।

Kumaribank

चालु आवमा अनुदानका लागि छनौट भएका कृषि समूह, सहकारी तथा फार्मले प्रदर्शनी कक्षबाटै आफूलाई आवश्यक परेका कृषि उपकरण तथा प्रविधि खरिद गर्ने प्रबन्ध मिलाइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

'देशविदेशका कम्पनीले आफ्नो उत्पादनलाई प्रदर्शनीमा राखेका छन्, महानगरभित्रका किसानले रोजीरोजी अनुदानको कृषियन्त्र किन्न सक्नुहुन्छ', उनले भने, 'बिल भरपाईका आधारमा ५० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछौँ।'

महाशाखा प्रमुख कडरियाका अनुसार किसानलाई एक सय १६ मिनिटिलर हलो, तीन सय ८५ टनेल प्लास्टिक, मल्चिङ प्रविधि ९१, थोपा सिँचाइ ३६, स्प्रेयर एक सय २२, असिना छेक्ने जाली ८५ र ५८ मौरीघार अनुदानमा उपलब्ध गराइएको हो।

महानगरले वडा तहमा कृषि सञ्जालमार्फत प्रदान गरिने कृषि औजार तथा उपकरण पनि सञ्जालले चाहेको खण्डमा प्रदर्शनीस्थलबाटै वितरण गर्ने योजना बनाएको छ। व्यावसायिक कृषि पकेटको छुट्टै कार्यक्रममार्फत एक सय नौ कृषि समूह, सहकारी र फार्म अनुदानका लागि छानिएको महानगरले जनाएको छ।

Metro Mart

महाशाखा प्रमुख कडरियाले महानगरले बर्सेनि कृषिको यान्त्रिकीकरणका लागि ८० लाख रूपैयाँभन्दा बढी अनुदान रकम खर्च गर्ने गरेको बताए। पछिल्लो एक दशकयता किसानले कृषि उत्पादनदेखि प्रशोधनका काममा नयाँनयाँ कृषियन्त्र र उपकरणको प्रयोग बढाउँदै गएको उनको भनाइ छ।

महानगरले अनुदानमा कृषि उपकरण वितरण गर्न थालेपछि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको पोखरा-५ को दिदीबहिनी कृषक समूहका सन्तोषी नेपालीले बताए। उनले उत्पादनसँगै कृषिको बजारीकरणमा पनि महानगरलगायत राज्यका निकायले सहयोग गर्नुपर्ने उल्लेख गरे। व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञले जोड दिँदै आएका छन्।

परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने महाशाखा प्रमुख कडरियाले बताए। 'कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्नु आवश्यक छ, नयाँनयाँ उपकरण र प्रविधिलाई किसानको पहुँचमा पुर्‍याउनुपर्छ', उनले भने। 

प्रकाशित: Jan 06, 2024| 14:47 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्