बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरभित्रका पेट्रोलपम्पले ४५ दिनभित्र शौचालय सञ्‍चालनमा ल्याउनुपर्ने

काठमाडौं महानगरभित्रका पेट्रोलपम्पले ४५ दिनभित्र शौचालय सञ्‍चालनमा ल्याउनुपर्ने

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ। आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो। 

National life

बैठकले, महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ। समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन्।

समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।   
महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियन पदार्थ विक्री मापदण्ड पूरा नगरेको वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो। नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने महानगरपालिकाभित्रका १६ वटा पम्पको सूचीमा यो पनि थियो। 

ती पम्पहरुका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको छ। ट्राफिक व्यवस्थापनलाई असहज बनाएका छन्। पेट्रोलियम पदार्थको विक्री क्षेत्र, विक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ। 

नमूना पम्प बिक्रेताको विक्री स्थलमा जग्गाको क्षेत्रफल तराई र भित्री मधेस बाहेकका क्षेत्र १ विगाहा (तेह्र रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी हुनु पर्छ। राजमार्ग वा अन्य सडकबाट करिव ५ सय मिटर भित्रको जग्गामा नमूना पम्प विक्रेताको विक्री स्थल निर्माण गर्दा १० मिटरको पहुँच मार्ग आवश्यक पर्छ। 

Laxmi sunrise bank
kumari

बिक्री स्थलको ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्ड एप्रोच रोडको कालोपत्र वा कङ्क्रिट ढलान भएको, ढुङ्गा छापेको, सिमेन्ट जोडाई भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ्ग टायलबाट बनेको हुनुपर्छ। विक्री स्थलको कम्पाउण्डभित्र एप्रोच रोड, ट्याङ्क फार्म, विक्री कक्ष, पार्किङ्ग एरिया बाहेक सवारी साधन आवत जावतमा बाधा नपर्ने गरी हरियाली कायम गरेको हुनुपर्छ। 

बिक्री स्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाई भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्छ। रिफ्युलिङ्ग एरिया ढाक्ने गरी कम्तीमा १२-१२ मिटरको क्यानोपी हुनुपर्छ। विक्री स्थलमा पुरुषको हकमा न्यूनतम २ वटा ट्वाइलेटसहितको ६ वटा युरिनल र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्छ। पावर व्याकअपको व्यवस्था हुनुपर्छ। कार्यालय, विक्री कक्ष, स्वस्थ्यकर पिउने पानी वा ट्युवेल व्यवस्था हुनुपर्छ। बिजुलीको तार कन्सिल वायरिङ्ग भएको हुनुपर्छ।

बिक्री स्थल कम्पाउण्डभित्र पानी निकासको लागि उचित ड्रेनेजको व्यवस्था गरेको चाहिन्छ। नयाँ डिस्पेन्सिङ्ग पम्प जडान गर्नुपर्छ। पम्प परिसरमा पेट्रोलियम पदार्थ सञ्चय गर्दा एउटै पेट्रोलियम पदार्थको एउटा मात्र स्टोरेज ट्याङ्क भएमा १ वा १ भन्दा बढी डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन जोड्ने व्यवस्था हुनुपर्छ। एउटै पेट्रोलियम पदार्थको स्टोरेज ट्याङ्की एउटा भन्दा बढी भएमा अलग अलग अलग डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन भएको हुनुपर्छ। एकै किसिमको पेट्रोलियम पदार्थको सञ्चय गर्दा ट््याङ्कीहरु बिच इन्टरकनेक्सन जोड्न नसकिने व्यवस्था हुनुपर्छ। 

 
 

प्रकाशित: Jan 04, 2024| 18:40 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्