बिहीबार, भदौ १८, २०८३

'कमिसनको गोलचक्कर'मा खाद्य संस्थान, एकैदिन मरे २८ च्याङ्ग्रा

एकै पटक यति ठूलो संख्यामा च्याङ्ग्राहरु कसरी मरे भनेर भने स्पष्ट रुपमा भने कसैले पनि बताउन चाहेनन्।
 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाल खाद्य संस्थानमा एकै दिन २८ वटा च्याङ्ग्रा मरेको फेला परेका छन्। दसैं-तिहारका लागि भनेर ल्याइएका र बिक्री नभएकामध्ये एकैदिन २८ वटा च्याङ्ग्रा मरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले जानकारी दिएकी छन्। यद्पि एकै पटक यति ठूलो संख्यामा च्याङ्ग्राहरु कसरी मरे भनेर भने स्पष्ट रुपमा भने कसैले पनि बताउन चाहेनन्। खाद्य संस्थान व्यापार प्रबर्द्धक भेषनाथ न्यौपानले भने यसबारे आफूले बोल्‍न नमिल्‍ने बताए। 

त्यसैगरी संस्थानका खरिद एकाई प्रमुख भिम थापाले दसैं-तिहारका लागि ५४२ च्याङ्ग्रा ल्याइएकोमा करिब १०० वटा बाँकी रहेको जानकारी दिए। मरेका च्याङ्ग्राहरुको विषयमा भने आफूले बोल्‍न नमिल्‍ने बताए। त्यसैगरी संस्थानका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले मरेको भन्‍ने खबर पाएको तर कति मरे भन्‍ने यकिन भइ नसकेको जानकारी दिए। उनले भने, 'बिक्री नभएका ४७ वटा बाँकी थिए, त्यसमा कति मरे, कति घाइते छन्। अहिले यकिन हुन सकेको छैन।' 

संस्थानको बिक्री वितरण विभागका अधिकारी निर्मल शर्माले दसैंमा ५४५ वटा च्याङ्ग्रा/भेडा ल्याइएकोमा ९३ वटा बाँकी रहेको जानकारी दिए। उनले मरेका भेडाहरुलाई पशु चिकित्सकको जिम्मा लगाइएको बताइए पनि कति मरे भन्‍ने विषयमा आफूले बोल्‍न नमिल्‍ने बताए। यसरी संस्थानका जिम्मेवार अधिकारीहरु भने एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन्। 

तर, संस्थानकै अर्का एक अधिकारीले नाम नखुलाउने शर्तमा संस्थानका सीईओ, खरिद एकाई प्रमुख र अन्य केही कर्मचारीको मिलेमतोमा दसैं-तिहारमा च्याङ्‍ग्रा ल्याउने भनेर बजेट छुट्याइए पनि त्यसका नाममा सस्तोमा हिमाली भेडा ल्याएको दाबी गरे। उनले भने, 'उहाँहरु मिलेपछि यहाँ अरु केही र कोही चाहिँदैन। कमिसनको गोलचक्कर छ। भनिसाध्य नै छैन।' 

यति ठूलो संख्यामा च्याङ्ग्राहरु एकैपटक मरेका भए पनि जवाफदेही हुने पक्षमा कोही नदेखिएको ती अधिकारीको गुनासो छ। उनले भने, 'आज यत्रो संख्यामा एकैपटक च्याङ्ग्राहरु मरेका छन्। यो कसरी भयो भन्‍ने विषयमा जाँचबुझ हुनुपर्ने हो। तर, यहाँ मुखामुख गरेर बैठक बस्‍ने र यसलाई टुंग्याउने तयारी भइरहेको छ। यो कमिसनको खेल गत दसैंदेखि सुरु भएको हो। दसैंमा च्याङ्‌ग्रा ल्याउनका लागि बजेट छुट्याइयो। तर, सस्तोमा हिमाली भेडा ल्याएर आइयो। त्यसमा केही बिक्री भए र केही पछि सस्तो दरमा बिक्री गरियो।' 

करिब १०० जति बाँकी थिए। त्यसमा पछिल्लो समय ९३ र तीन दिनअघिको तथ्यांक अनुसार ४८ वटा भेडा जीवित रहेको ती अधिकारीको दाबी छ। ती अधिकारीले भने, 'बिक्री भएका भनिएका ४५ वटा भेडा पनि कति मूल्यमा कसरी बिक्री भए भन्‍ने यकिन आइसकेको छैन। तर, बिक्री भएको भनिएको छ। बचेका ४८ वटा भेडा हेर्नका लागि चार जना जनशक्ति राखिएको छ। अब एकै पटक ३३ वटा भेडा मरेपछि पनि कसरी भयो भनेर प्रश्‍न गर्न पाइँदैन।' 

यसरी हेर्दा यहाँ कति बाँकी थिए भन्‍नेमा नै संस्थाका अधिकारीहरुकै मत बाझिएको छ। थापाले भनिन्, 'गोठालाले बुधबार राति चराएर ७ बजे गोठमा ल्याएर राखेको र बिहान गोठाला आउँदा मरेको भन्‍ने खबर मलाई गरे। मृत्युको कारण प्रयोगशालापछि मात्रै थाहा हुनेछ।'  उनले अब यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा व्यवस्थापनसँग छलफल गरेर निर्णय हुने उनले जानकारी दिइन्। 

प्रकाशित: Jan 04, 2024| 18:29 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्