बुधबार, पुस २, २०८२

चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

इलाम- इलामको सूर्योदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ। चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ। चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स-साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए।

National life

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उनको भनाइ छ। 'यहाँ सामान्यतया चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागतशैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ', भट्टराईले भने।

नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन्। 'यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ', राईले भने।

कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब २३ करोड रूपैयाँको लागतमा यो केन्द्र निर्माण भएको हो। 

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ। इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ। इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ। कृषक धीरज अधिकारीले भने, 'स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा अब हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा छ।'

Laxmi sunrise bank
kumari

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो। केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन्। नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन्। नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन्। उनले भने, '५० करोड रूपैयाँ लगानीमा पर्यटन, पूर्वाधार र कृषिका आयोजनाको काम भइरहेको छ, ६६ करोड रूपैयाँ लगानीको खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ भने ३९ करोड रूपैयाँ लगानीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।'

फिक्कलमा १३ करोड रूपैयाँ लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले ४४ करोड रूपैयाँ लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए। नौ करोड रूपैयाँ लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ। १२ करोड रूपैयाँ लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र संघीय सरकारको साझेदारी रहेको उनको भनाइ छ। 

'स्वीस सरकारले पर्यटनसम्बन्धी विभिन्न आयोजनामा लगानी गर्न चासो देखाएको छ', प्रमुख राईले भने, 'नगरले आफ्नै लागत तथा अथक प्रयासमा प्रदेश र संघको सहकार्यमा आयोजनाको काम गरिरहेको छ।'

सूर्योदय नगरपालिकाले ठूला आयोजनाको काम गरिरहेकामा नगरवासी खुसी देखिन्छन्। यही गतिमा सयौँ आयोजनाको काम सकिँदा विकासमा फड्को मार्ने आशा गरिएको स्थानीय रविन सापकोटा भन्छन्, 'हाम्रो नगरपालिका चियाको उर्वर भूमि हो। पालिकाले अनुसन्धान केन्द्र बनाएर राम्रो गरेको छ।'

इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ।

प्रकाशित: Jan 04, 2024| 22:50 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्