मंगलबार, भदौ १०, २०८२

चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग

 |  बिहीबार, पुस १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

vianetvianet

चितवन- कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन्। लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन्।

Kumaribank

नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन्। पोल्ट्री क्षेत्रका ज्ञाता डा तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन्। सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ।

ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ। भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार दुई सय लेयर्स प्यारेन्ट भित्रिएका थिए। सन् २०२०/२१ मा एक लाख ४८ हजार आठ सय ७०, सन् २०२१/२२ मा एक लाख १३ हजार चार सय ३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन्।

यस्तै ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार दुई सय ९२, सन् २०२१/२२ मा १७ लाख पाँच हजार एक सय ५४ र सन् २०२२/०२३ मा एक लाख दुई हजार १४ भित्रिएका छन्। भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताए। प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उनको भनाइ छ।

यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ। पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताए।

Metro Mart

समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उनको भनाइ छ। कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेल बताउँछन्। नेपाल ह्याचरी उद्योग संघका पूर्वअध्यक्ष रहेका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ। सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उनी बताउँछन्।

यस्तै बैंकको ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने उनले बताए। उनले भने, 'समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ।' पोल्ट्री क्षेत्रमा एक खर्ब ६० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको भन्दै उनले ह्याचरी उद्योगमा मात्रै ६० देखि ७० अर्ब रूपैयाँ लगानी भएको बताए।

कोभिडपछिको अवस्थामा २० देखि २५ अर्ब रूपैयाँ ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेल बताउँछन्। उनले थपे, 'पोल्ट्री क्षेत्र रहेन भने एक खर्ब ६० अर्ब रूपैयाँभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ।'

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउँछन्। आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उनको भनाइ छ।

कम ब्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएकालगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उनी बताउँछन्। उनले भने, 'निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन।'

साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन्। संघका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा ३५ देखि ४० रूपैयाँमा बिक्री हुँदै आएको छ। यसको लागत मूल्य ६० देखि ६५ रूपैयाँ पर्न आउँछ। लेयर्स चल्लाको बजार मूल्य ७० देखि ७५ रूपैयाँछ। यसको लागत मूल्य एक सय २० देखि एक सय ३० रूपैयाँ पर्न आउँछ।

लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन्। नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन्। यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो।

प्रकाशित: Jan 04, 2024| 20:02 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।