काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारमा सक्रिय भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यहीबीच प्रधानमन्त्री ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग-कसुर गरेको आरोपमा कारबाही माग गर्दै उजुरी दिन गएका अधिवक्तालाई प्रहरीले धम्क्याएर फिर्ता पठाएको छ।
संविधानको धारा १(२) मा ‘यस संविधानको पालना गर्नुपर्ने प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख छ। तर, प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको, सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै उजुरी दर्ता गराउन महानगरीय प्रहरी परिसर टेकु पुगेका अधिवक्ता भूपेन्द्रप्रसाद पोख्रेललाई महानगरीय प्रहरी प्रमुख वसन्त लामाले उजुरी नलिई फर्काइदिएका हुन्।
अधिवक्ता पोख्रेलले धर्म परिवर्तनको मतियार भएर नेपालको संविधानविपरीत काम गर्नेलाई कारबाही माग गर्दा प्रहरीले थुनिदिने धम्की दिएको बताए। उनले भने, ‘प्रहरीले यहाँ राजनीति गर्न आउने? राजनीति गर्ने भए सडकमा जानुस्, नत्र थुनिदिन्छु भनेर धम्की दिए। कानुनविपरीत काम गर्नेलाई कारबाहीको माग गर्दा थुनिनुपर्ने दिन आए। यो त कानुनी राज्यको उपहास भयो।’
पोख्रेलले प्रधानमन्त्री ओलीसँगै युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि कारबाही गरिनुपर्ने माग गर्दै उजुरी दर्ता गर्न खोजेका थिए। तर, प्रहरीले कानुनभन्दा पनि पद हेरेर उजुरी दर्ता लिन नमानेको अधिवक्ता पोख्रेलको आरोप छ। उनले भने, ‘संविधानको पालना गर्नुपर्ने हरेक नागरिकको कर्तव्य भए पनि प्रधानमन्त्री र मातहतका निकायले नै संविधान उल्लंघन गरेका छन्।’
महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामालाई बुझ्न खोज्दा रीत नपुगेकाले दर्ता नगरी फर्काइदिएको बताए । उनले भने, ‘उक्त उजुरीमा रीत नपुगेकाले कानुन शाखाले फिर्ता गरेको हो।’
संविधानविपरीत काम गर्नेलाई समेत कारबाही नहुने हो भने अपराधजन्य क्रियाकलाप बढ्ने र यसमा राज्यकै संरक्षण हुने भएकाले कानुनी राज्यमाथि नै प्रहार हुने खतरा बढेको अधिवक्ता पोख्रेलले बताए।
यस्तो छ उजुरी
श्री महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पेश गरेको
जाहेरी-दरखास्त
१. दरखास्त वा सूचना दिने व्यक्तिको नाम,थर,ठेगाना ः लालप्रसाद पोखरेलको छोरा मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ११ हनुमानस्थानमा ल फर्म संचालन गर्दै आएका वर्ष ४७ को अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेल......................................................................................................१
२. कुन मुद्दा सम्बन्धी अपराधबारे दर्खास्त वा सूचना गरिएको हो : धर्म परिवर्तनको उद्योग ।
३. कसुर गर्ने व्यक्तिको नाम ,थर, ठेगाना र हुलीया :
(क) नेपाल राज्यका सम्मानित प्रधानमन्त्री श्री खड्ग प्रसाद ओलीज्यू समेत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाडौं नेपाल..............................................................................................१
(ख) युनिभर्सल पिस फेडेरेशन (यु.पि.ए.एफ)का नेपाल अध्यक्ष श्री एकनाथ ढकाल समेत ............................................................................................१
४. कसुर गर्ने व्यक्तिको बाबु-आमाको नाम : थाहा नभएको ।
५. कसुर गर्ने व्यक्तिको हुलिया र परिचय खुल्ने अन्य विवरण : थाहा नभएको ।
६. कसुर सम्बन्धी विवरण :
(क) अपराध भएको वा भै रहेको वा हुने सम्बन्धित ठाउँ मिति र समय :
का.जि.का.म.न.पा.वडा नं. ६ चुच्चेपाटी बौद्ध स्थित होटल हायातमा मिति २०७५।०८।१३, १४, १५, १६ र १७ गते बिहानको १०:०० बजे ।
(ख) कसुरसंग सम्बन्धीत घटनाको विवरणः नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनी नेपाल सरकार, नेपाल सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा धर्म परिवर्तनको गोष्टी, सभा सम्मेलन गरी नेपाल र नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आर्कर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाको सन्देश जारी गर्ने गरी का.जि.का.म.न.पा.वडा नं. ६ मा अवस्थित होटल हायातमा मिति २०७५।८।१३ देखि १७ गतेसम्म ५ दिने क्रिश्चियन सभा सम्मेलन गरी नेपालका उच्च पदाधिकारी,उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर उपमेयरलाई सम्मेलनमा बोलाई सच्चा माता भनिने मुनबाट आर्शिवाद लिने कार्य गरेको।
संविधानको धारा १(२) मा यस संविधानको पालना गर्नुपर्ने प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ। यसै संविधानको धारा ४ मा नेपाल राज्य धर्म निरपेक्ष हुने व्यवस्था रहे भएको एवं संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गरी धारा २६(३) मा भएको संवैधानिक व्यवस्था विपरितको कार्य गरे गराएमा त्यस्तो कार्य कानुन बमोजिम दण्डनिय हुने भन्ने संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी सम्माननीय प्रधानमन्त्री एवं अन्य मन्त्रीज्यूहरुबाट देशमा विदेशी पाहुनालाई नेपाल राज्यमा स्वागत गरी राजनीतिक आवरणमा धार्मिक गतिविधिका लागि आयोजना भएको एशिया प्यासिफिक समिट २०१८ मा करिब १५०० जना जोडीलाई क्रिश्चियन धर्ममाताबाट आर्शिवाद दिलाई जिससकी छोरी भनेर चिनाउने हाक जा हान मुनले होली वाइन (पवित्र रक्सी) ले छर्केर सबैलाई आर्शिवाद लिने दिने कार्यमा सम्मानीय प्रधानमन्त्रीज्यूले उपस्थित जनाई उक्त कार्यमा सरिक भई धर्म परिवर्तनका लागि मतियार भएकोले यो नेपालको संविधान तथा अपराध (संहिता) ऐन २०७४ को विपरित कार्य हो।
(ग) कसुरको प्रकृति र कसुर सँग सम्बन्धित अन्य विवरण :
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भई मतियार भई विवादित संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को अवार्ड वा उपहार, तक्मा लिने दिने कार्य पनि संविधानको धारा २७७ विपरितको कार्य हो । यसरी धर्म परिवर्तन गराउने कार्यमा सरिक हुन नपर्ने, हुन नमिल्ने संवैधानिक व्यवस्थाको विपरित स्वयं राष्ट्रको सम्मानीत प्रधानमन्त्रीज्यू र उहाँका मन्त्री मण्डल नै उपस्थित भई उहाँकै रोहवरमा विदेशी संस्थाले नेपाल राज्यभित्र नेपालीलाई क्रिश्चियन धर्म प्रचार गराई आर्शिवाद दिई सपथ समेत गराउने कार्य नेपालको कानुन विपरित भएकोले नेपाल सरकारले गरेको उक्त कार्य र सम्मानीत प्रधानमन्त्रीज्यू कै रोहवर उपस्थितिमा धर्म परिवर्तन गर्ने कार्यमा मतियारको रुपमा देखा परेकोले मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १, १५८ अनुसारको कार्य गरेकोले उक्त कार्यमा सहभागीहरुको नाम, थर वतन खुलाउन लगाई सोही ऐन १५८ को ३ नं. बमोजिम सजाय गरी पाउँ।
(घ) कसुरसँग सम्बन्धित सबुद प्रमाण :
नेपाल सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यू, अन्य मन्त्रीहरु, नेपाल सरकारका उच्च तहका राष्ट्रसेवक, जनप्रतिनिधिहरु, मेयर, उपमेयर तथा मिति २०७५।८।१५ गते सम्माननीय प्रधानमन्त्रीज्यूले दिनु भएको सन्देश उहाँले पाउनु भएको रकम र तक्मा विभिन्न पत्रपत्रिका, मिडियाको रेकर्ड तथा काठमाडौंमा अवस्थित होटल सोल्टीमा प्रधानमन्त्रीज्यू बस्नु भएको होटल हायातमा मिति २०७५।८।१३ देखि १७ गतेसम्म भएका यसै संस्थाका विभिन्न कार्यक्रमको आवश्यक छानविन गरी प्रमाण लगाई पाउँ।
(ङ) कसुरसँग सम्बन्धित अन्य विवरण : ×
७. यो दरखास्तको व्यहोरा ठिक साँचो हो । झुठ्ठा व्यहोरा लेखेको ठहरे कानुन बमोजिम सहुँला बुझाउँला । प्रहरीद्धारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाको बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
जाहेरी वा सुचना दिने व्यक्तिको
सही :
अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेल
मो नं ९८५१०४४७७०
मिति : २०७५।०८।१८
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४