काठमाडौं- आज बिहान काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय भेटघाटहरुमा व्यस्त छन्। काठमाडौं ओर्लिनासाथ उनले नेपालका समकक्षी एनपी साउदसँग भेट गरे।
त्यसपछि उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरे। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।
उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे। सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे।
राष्ट्रपतिपछि जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन्। भेट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको हो।
आज काठमाडौंमा हुने नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन्। जयशंकरको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता पनि भएको छ।
विदेशमन्त्री जयंशकरसँग भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि आएका छन्।
सिंहदरबारबाट उनी परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन होटल याक एन्ड यती पुग्नेछन्। विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्नेछन्।
उनी बेलुकी ६ बजे परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्। शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी भई दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कनेछन्।