जापान एयरलाइन्सको भीमकाय विमानमा आगो लागिसकेको थियो। यात्रुहरु आफ्नो सामान छोडेर आपतकालीन ढोकातिर दौडिरहेका थिए। विमानको चालक दलका सदस्यरुले दिएको निर्देशन यात्रुले पालना गरिरहेका थिए।
टोकियोको हनेदा विमानस्थलमा मंगलबार विमान दुर्घटना हुँदा दृष्य यस्तै थियो। आगलागी हेर्दा जोकसैले अनुमान गर्न सक्थ्यो- कोही बाँच्दैन। तर विमानमा सवार सबै ३७९ यात्रुको सकुशल उद्धार भयो।
एभिएसन इन्डस्ट्रीका जानकारहरुका अनुसार यात्रुहरुले आफ्नो सामान छोडेर भाग्नु नै ज्यान बच्नुको मुख्य कारण हो। उनीहरुले सामान समेट्न थालेको भए स्थिति अर्कै हुन सक्थ्यो। जापान एयरलाइन्सको विमान जब हनेदा विमानस्थलमा ल्यान्ड भयो, त्यहाँ पार्किङ गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किन पुग्यो। हेर्दाहेर्दै विमानमा आगो सल्कियो र फैलिन थाल्यो। कोस्ट गार्डको विमान तुलनात्मक रुपमा सानो थियो। त्यसमा रहेका ६ मध्ये ५ जनाको ज्यान गएको छ।
त्यति ठूलो विमानमा आगो लाग्दा त्यति ठूलो संख्याका यात्रु सबैलाई कसरी बचाउन सकियो ? दुनियाँ आश्चर्यचकित छ। चालक दलका सदस्यले बीबीसीलाई बताएअनुसार उनीहरुले तालिमका क्रममा सिकेको कुरा व्यवहारमा उतारे। यसमा यात्रुको संयममताले साथ दियो। यात्रुहले सेफ्टी प्रोटोकलको पालना नगरेको भए, भागदौड मच्चिएको भए सायदै सबैलाई बचाउन सकिन्थ्यो।
युनिभर्सिटी अफ ग्रीनविचमा फायर सेफ्टी इन्जिनियरिङ ग्रुपका निर्देशक एड गैलिया भन्छन्, 'मैले जति पनि भिडियो देखेँ, त्यसमा कोही पनि यात्रु आफ्नो सामानसँग ग्राउन्डमा देखिएका छैनन्। कोही पनि आफ्नो हेन्ड ब्याग लिनतिर लागेनन्। यात्रुहरुले लगेज लिने कोसिस गरेको भए त्यो खतरनाक हुन सक्थ्यो। किनकी त्यसो गर्दा समय बढी खर्च हुन्थ्यो।' उनका अनुसार दुर्घटना भएको विमान एयरबस ३५० को स्थितिले पनि यात्रुको उद्धार प्रक्रियालाई मुस्किल बनाइदियो। विमानको अगाडिको भाग भूइँतिर झुकेको थियो। यसले गर्दा यात्रुलाई अर्कोतर्फ हिँड्न असहज भयो।
यात्रुलाई बाहिर निकाल्न तीन वटामात्र आपतकालिन ढोका खोल्न सकिने अवस्था थियो। विमानको अगाडिको भागमा रहेको इन्फ्लाटेबल स्लाइड पनि सुरक्षित थिएन किनकी विमान अगाडि झुकेको थियो। जापान एयरलाइन्सले बताएअनुसार उद्धार कार्य सुरु हुँदासम्म विमानको अनाउन्समेन्ट सिस्टम बिग्रिसकेको थियो। चालक दलका सदस्यहरु मेगाफोनबाट ठूलो आवाजमा यात्रुहरुलाई आवश्यक निर्देशन दिइरहेका थिए। उद्धारका क्रममा केवल एक यात्रुलाई सामान्य चोट लाग्यो भने १३ जनाले दुखाइ तथा अन्य शारीरिक समस्यका लागि मेडिकल मद्दत मागेका थिए।
विमानमा सवार यात्रुलाई अविश्वसनीय रुपमा भाग्यमानी मानिएको छ। यति ठूलो दुर्घटनामा सकुशल रहनु चमत्कार नै हो वास्तवमा। यात्रुहरु आत्तिएर भागदौड नगर्नु, चालक दलका सदस्यले दिएको निर्देशन पालना गर्नु र हेन्ड लगेज लिन कोसिस नगर्नुले यो चमत्कार हुन पुगेको हो।
सन् १९७७ मा स्पेनको रोडियस एयरपोर्टमा दुईवटा बोइङ ७४७ ठोक्किँदा ५८३ जनाको मृत्यु भएको थियो। हवाई यातायाताको इतिहासमा यसलाई सबैभन्दा ठूलो दुर्घटना मानिन्छ।