काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अनर्तगत सिएमजी संकटा क्लबले लिगमा आफ्नो पाँचौ जित निकालेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै संकटाले लिगको ६ खेल खेल्दा पाँच जित निकालेको हो । यस जितसँगै संकटा अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको तीन वटै गोल पहिलो हाफमा सम्भव भएका थिए । दोस्रो हाफमा दुबै टोलीले निकैनै आक्रमक खेल प्रस्तुत गरे पनि थप गोल भने गर्न सकेन् ।
दोस्राे हाफमा पुलिसले केहि बराबरी गर्ने मौका गुमाएको थियो । संकटाको जितका लागि सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा अग्रता लिएको संकटाका लागि सरोज दाहालले गोल गरेका थिए । उनले लक्ष्मण रुचालको कर्नरमा गोल गरेका हुन् ।
त्यसको १० मिनेट नबित्दै संकटाका दिपेश आले मगरले अग्रता दोब्बर पारे । उनले खेलको ३७ औं मिनेटमा गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । एलोन म्यक्स्वेलले दिएको थ्रु बलमा दिपेश आले मगरले गोलरक्षक सत्रुघन चौधरीलाई समेत छलाउँदै गोल गरे ।
दुई गोल खादै आक्रमक देखिएको पुलिसले त्यसको दुई मिनेट नबित्दै एक गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । पुलिसका लागि रवि पासवानले एक गोल फर्काएका हुन् ।
तर, पुलिसले थप गोल गर्न नसक्दा संकटासँग २-१ ले पराजित हुन पुग्यो । संकटाको ६ खेल खेल्दै पाँच खेलमा जित र एक हार सहित १५ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ भने समान खेल खेलेको पुलिस ३ खेलमा जित, दुई हार र एक बराबरीको नतिजामासँगै १० अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४