आइतबार, असार १४, २०८३

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

म्याग्दी- नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो।

National life

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मंगलबार पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गरेका थिए।

कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ मध्ये नौ मनाङका किसान समूह र समितिलाई दिइने जानका दिए। 'एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौँरीपालक किसान, समूह र सहकारीलाई वितरण गरिएको हो', उनले भने, 'नश्ल सुधार भई चौँरीपालक किसानलाई लाभ पुग्ने अपेक्षा गरेका छौँ।'

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए। गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ। म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ।

यातायात सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गरिन्छ। चौँरीको दूध, घिउ र छुर्पी बिक्री हुन्छ। याक चौँरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ। मुस्ताङ र म्याग्दीमा साउन र चैतमा चौँरीको रगत पिउने मेला लाग्छ। धार्मिक कार्यमा प्रयोग हुने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ।

Shivam cement

मुस्ताङमा झण्डै चार हजार याकचौँरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले जनाएको छ। थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिकरूपमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी पालेका छन्।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी आठ घरधुरीले करिब पाँच सय याकचौँरी पालेका छन्। बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौँरीको गोठ चिसो याममा बेँसी झारिएको छ।

प्रकाशित: Jan 03, 2024| 20:41 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्