काठमाडौं- देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रूपन्देही, बुटवल उपमहानगरपालिका-८ मिलन चोकस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख ३३७४ नम्बरको माइक्रोबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.३१ प ६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लाल बहादुर कुँवरको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्व, बौद्धिकाली गाउँपालिका-१ मचेडीस्थित सडकमा डेढगाउँबाट कावासोतीतर्फ जाँदै गरेको लु.४६ प २३८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बस्ने ५५ वर्षीय रन बहादुर स्माइली मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
महोत्तरी, गौशला नगरपालिका-१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ बकुलीया चोकस्थित सडकमा ना.१ ज ३५२७ नम्बरको सुमोले ना.५९ प ३९ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका-३२ बस्ने २५ वर्षीय दीपक नारायण शर्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा ग.३ च १६५ नम्बरको बोलेरो पिकअपले प्रदेश १-०५-००१ प ६५६१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी कञ्चनरूप नगरपालिका-५ बस्ने १८ वर्षीय कृष्ण देव चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित सडकमा से.१ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने ६५ वर्षीय देव बहादुर शाहको मंगलबार साँझ मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट, गौर नगरपालिका-६ सबगढास्थित सडकमा ना.१ ज ७१०९ नम्बरको म्याजिकले बीआर ०६ डीए ७६६४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक भारत मोतिहारी बस्ने ४० वर्षीय सुशिल यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।