बिहीबार, पुस ३, २०८२

इलामको रोङमा व्यावसायिक मौरीपालन

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

इलाम- इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ। सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ। 

National life

रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन्। करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए। “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने। मह बिक्री गर्न समस्या छैन। व्यापारी घरमै आइपुग्छन्। घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उनले बताए। उनले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आएका छन्।

अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्छन्। तीस आधुनिक घारमा मौरीपालन पालेका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउछन्। मह उत्पादनमा गाउँपालिकानै लागि परेपछि स्थानीयल यस व्यवसायतर्फ आकर्षित भएका हुन्। मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले बताए। 

सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए पालिकाले दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो। उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएको बताइएको छ। यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन गरेको छ। 

सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरेको छ।  नौ सदस्यीय समितिको सदस्य–सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा हुनुहुन्छ। सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत रहेको नवगठित समितिका संयोजक लुइँटेलले बताए। 

Laxmi sunrise bank
kumari

गाउँपालिका अध्यक्ष  स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको जनाउँदै संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताए। वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहेका छन्। 

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ। गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिए। 

पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्दछ। यसको परागसेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका उपाध्यक्ष  भुजेलको भनाइ छ। मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य गाउँपालिकाले लिएको उपाध्यक्ष भुजेलले बताइन्।

प्रकाशित: Jan 03, 2024| 11:02 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्