आइतबार, चैत २९, २०८२

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ। 

National life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लािग कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो। छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो। 

सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ)का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए। नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उनको भनाइ छ। 

नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मकरुपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए। इपिएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उनको भनाइ छ। यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ। 

दक्षिण कोरियाले इपिएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ। नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रुपमा छ। कोरियामा रोजगारीका लागि बर्सेनि लाखौँ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन्। हाल एक लाख ७५ हजार नेपाली नागरिक कोरियन भाषा परीक्षा उतीर्ण गरी कोरिया जाने प्रतीक्षामा रहेको मन्त्रालयले जनाएको छ। 

kumari

सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुःखद् भएको जनाउँदै कोरिया सरकारका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदन व्यक्त गरेको थियो। 

प्रकाशित: Jan 02, 2024| 20:56 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्