बुधबार, भदौ ११, २०८२

चिसोमा पनि बिक्दैनन् बख्खु र काम्ला

 |  बुधबार, पुस १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

vianetvianet

बागलुङ- 'हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गर्थ्यौँ, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,' भन्छन् निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय वीरमान बुढामगर।

Kumaribank

उनी अहिले पनि प्रायजसो भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्छन्। पहिले जोडमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ऊनकै कपडा बढी प्रयोग हुन्थे तर हिजोआज गाउँघरमा पनि सबै प्रकारका कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा आएका भेडाका रौँका कपडा कम प्रयोग हुने गरेको उनको भनाइ छ।

भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ। पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर अहिले थोरैले मात्र कपडा बुन्ने काम गर्दै आएको बुढामगर बताउँछन्। दिनप्रतिदिन बजारको सुविधा गाउँमा पनि पुग्न थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको र युवा पुस्ताले ऊनबाट बनेका कपडा प्रयोग गर्नाको साटो विदेशी महँगा कपडा लगाउन खोज्ने गरेको उनको भनाइ छ।

ढोरपाटन नगरपालिका-९ की बिनु पुनमगर अहिले पनि फुर्सदमा तिनै भुत्ला बाटेर कपडा बनाउने गर्छिन्। घर्किँदो उमेरमा पनि उनी निकै आकर्षक कपडा बुन्ने गर्छिन्। तर धेरै समय लगाएर तयार भएका कपडा बिक्री भने नहुने पुनमगरको गुनासो छ। एघार वर्षको उमेरदेखि आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन सिकेकी उनी डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि बिक्री गर्न नसकेको बताउँछिन्।

'हाम्रो जमानामा अहिलेको जस्तो लुगा पाउन मुस्किल हुन्थ्यो, गाउँघरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुुन्थ्यो, एकपटक बजारबाट ल्याएको कपडा वर्षौँसम्म लगाइन्थ्यो तर अहिले त गाउँगाउँमा लुगा पसल आए, जतिबेला किने पनि भयो, जस्तो किने पनि भयो', पुनमगर भन्छिन्, 'उतिबेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नुपर्थ्यो, त्यसबेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा बिक्री हुन्थे अहिले ती कपडा कसैले पनि किन्दैन, कहिलेकाहीँ विदेश जानेले मात्र रहर गरेर लैजान्छन्।'

Metro Mart

पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन्। यस क्षेत्रमा बस्ने अधिकांश मानिस भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे। एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा तिनका भुत्लाबाट कपडा बनाउने गरिन्थ्यो। पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालन नै संकटमा पर्ने डर बढेको छ। वर्षौँ पहिलेदेखि पुस्तान्तरण हुँदै आएको भेडापालनमा अहिले कमी आएको छ। अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा भेडाका बथान भेटिन्छन्। भेडापालन गर्ने अधिकांश बूढापाका नै हुन्छन्। भुत्लाबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडाले वर्षाबाट ओत दिनाका साथै हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन्।

तमानखोला गाउँपालिका-३ का भीमबहादुर रोका अहिले पनि भुत्लाबाट धेरै थरीका कपडा बनाउँछन्। सयौँको सङ्ख्यामा भेडा पालेका उनी हिउँदमा बेँसी र बर्खामा लेकमा बिताउने गर्छन्।

लेक-बेँसीमा बस्दा रोका फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बुन्छन्। गाउँघरमा बिक्री नहुने कपडालाई उनी विदेश पठाउने गर्छन्। एउटा बख्खुको २० हजारदेखि ४० हजार रूपैयाँसम्म पर्छ। पहिले-पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका बताउँछन्।   -रासस

प्रकाशित: Jan 03, 2024| 06:02 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।