काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरबाही गर्न नहुने बताएका छन् ।
एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले मंगलबार आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा खनालले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । 'अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,' खनालले भने।
महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास गरे । प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने खनालले बताए । उनले भने, '९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ ।'
प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको पनि उनले बताए । संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै्र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धनी र इज्जतदार परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताइन्। उपप्रमुख खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने उल्लेख गरिन्।
प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनकाबीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा रोकथाममा प्रशस्त काम गरेको बताए। दुई दिनसम्म चल्ने गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४