सुर्खेत- वीरेन्द्रनगरको मंगलगढीचोक । पाँचवटा रोडको मिलन बिन्दु । बसपार्कमा आउने सवारीसाधनको चाप । बीच सडकमै थुपारिएको माटोका ठूलठूला थुप्रा । यही थुप्रोको कारण अचेल सवारी दुर्घटनाको उच्च खोखिममा छ मंगलगढीचोक । प्रहरीलाई ट्राफिक व्यवस्थापनमा कठिन छ भने सवारी चालकलाई साइड काट्नै हम्मे । पैदलयात्रीलाई सवारीले किच्ला र धुलोले स्वास्थ्यमा गर्ला भन्ने डर । तर पनि सास्तीको कुनै लेखाजोखा नगरी हिँडडुल गर्न बाध्य छन् वीरेन्द्रनगरवासी ।
कर्णाली प्रदेशको मुटु वीरेन्द्रनगरमा निर्माणाधीन सडकले दिएको सास्ती हो यो । यही सडकमा गुड्छन् प्रदेश र स्थानीय सरकारका चिल्ला गाडीहरु । तर दुर्भाग्य भनौं या राज्यको नियति ! यतातिर कसैको आँखा जाँदैन आजभोलि । नागरिकले वर्षाैंदेखि सास्ती खेप्दा पनि बोल्ने आँट गर्दैनन् प्रदेश र स्थानीय सरकार । फोर लेन सडक छिटो निर्माण गर्न पटकपटक स्थानीयले आन्दोलन गर्छन् । चक्काजाम गर्छन् । धुलोले सास्ती भयो भन्छन् ।
सडक बन्द भएपछि प्रहरी आउँछ, निर्माण कम्पनीलाई बोलाउँछ र धुलो कम गर्न सडकमा पानी हाल्ने सहमति गर्छ अनि बन्द खुल्छ । भन्दा र सुन्दा पनि पत्यार नलाग्ने यस्ता गतिविधि महिनेपिच्छे हुन्छ वीरेन्द्रनगरमा । नागरिकले यसरी दबाब दिँदा कमिसनको चक्करले प्रशासन बोल्न नसक्ने आरोप लगाउँछन् स्थानीय । 'धुलो र हिलोको सास्ती खेप्न थालेको तीन वर्ष भयो ।' सडकछेउमा ठेलामा व्यापार गर्दै आएका करवीर ओली भन्छन्, 'सरकार र ठेकेदार त मिल्छन्, सास्ती खेप्ने त जनताले मात्रै हो ।'
कतिपयले स्थानीयले भने सरकारभन्दा ठेकेदार बलियो भएकाले कारबाही गर्न डराएको बताउँछन् । 'यहाँ सरकारभन्दा ठेकेदार बलिया छन्', वीरेन्द्रनगर-६ जुम्लारोडका शान्ति खनाल भन्छन्, 'दु:ख खेप्ने त जनताले मात्रै हो ।' वीरेन्द्रनगर-६ कै मीना गौतमले पनि जनप्रतिनिधि र ठेकेदारको मिलोमतोका कारण फोर लेन सडक निर्माणले गति लिन नसकेको बताउँछिन् ।

सर्वसाधारणको यो आरोप सत्य र वास्तविक होला या नहोला तर ठेकेदारको काम र जनप्रतिनिधिको व्यवहारले सत्यजस्तै साबित गर्छ । कहिले कामदारको अभाव त कहिले गिट्टीबालुवाको अभाव देखाउँदै निर्माण कम्पनी पन्छिन्छ । त्यसमा कहिलेकाहीँ बालुवा उत्खननमा सरकारले रोक लगाउँदा निर्माण सामग्री अभाव भयो भन्ने बाटो खुल्छ ठेकेदारलाई । 'बालुवा गिटी तीन महिनासम्म बन्द हुन्छ, खोजेका बेला कामदार पाउँदैनन्', फोर लेन सडक निर्माण जिम्मा पाएको स्वच्छन्द श्याम एन्ड शंकर तथा आशिष श्याम एन्ड शंकर निर्माण कम्पनीका सञ्चालक पदम खड्का भन्छन्, 'यही समस्याका कारण काममा बाधा पुग्छ अनि कसरी काम तीव्र चल्छ ।'
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी सडकको काममा तीव्रता दिन ताकेता गरिरहेको बताउँछन् । 'काम छिटो सक्न ताकेता गरिरहेकै छौं', सुवेदी भन्छन्, 'व्यवसायीले अलि ढिला गरेको छ, हामीले हाम्रो तर्फबाट भनिरहेकै छौं र अझै पनि भन्छौं ।'
जनताले सडकमा आन्दोलन गर्दासम्म किन तपाईंहरु चुप लागेको भन्ने प्रश्नमा सुवेदीले भने, 'निर्माण कम्पनीसँग समन्वय गरिरहेका छौँ ।' नगरपालिकाकै पहलमा धुलो नउडोस् भनेर सडकमा दिनको २ पटक पानी हाल्न लगाएको उनको भनाइ छ ।
तीन वर्षमा पनि बनेन् ६ किलोमिटर सडक
निर्माणाधीन फोर लेन सडकको लम्बाइ लगभग साढे ६ किलोमिटर हो । धुलियाबिटदेखि-बाङ्गेसिमल सडकको निर्माणकार्य थालनी भएको तीन वर्ष पूरा भएको छ । तर तीन वर्ष पूरा हुँदा पनि निर्माण कार्य अझै सकिएको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दीपेन्द्र विष्टका अनुसार फोरलेन सडक पहिलो चरणमा २०७२ सालको सुरुमै ठेक्का सम्झौता भएको हो । धुलियाबिटदेखि सञ्चयकोषसम्म १४ करोड ३५ लाख ६४ हजार ५ सय लागतमा समयमै निर्माण सम्पन्न भयो ।
तर दोस्रो चरणको सुरुवातदेखि फोरलेन सडक कछुवाको गतिमा अगाडि बढिरहेको छ । यही गतिका कारण स्थानीयले पटकपटक आन्दोलन गरे । कहिले बालुवाको उत्खनन् रोकिएको त कहिले निर्माण सामग्री अभाव देखाउँदै काम सुस्त भयो ।
स्वच्छन्द सिएमएन शंकर जेबीले भने तीव्र गतिमा काम भइरहेको बताएको छ । २०७३ सालमा १४ करोड ४० लाख ४१ हजार ५ सय ललागतमा सम्झौता भएको सडकको काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । सम्झौता म्याद सकिन करिब ५ महिना बाँकी रहँदा पनि कामको गति उस्तै रहेको छ ।
ढल निकास पनि उस्तै
फोर लेन सडक निर्माणमा ढिलाइ हुँदा ढल निकासमा समेत समस्या देखिएको छ । बजारदेखि मंगलगढीचोकसम्म बग्ने ढल सडकमा राखिएको निर्माण सामग्रीले अवरुद्ध भएको छ । ढल निकास नहुँदा ढलको फोहोर सडकमै बग्न थालेको छ ।
फोर लेन निर्माणको जिम्मा सडक विभागले लिए पनि ढल निर्माण भने नगरपालिकाको दायित्वमा पर्छ। तर वीरेन्द्र्रनगर नगरपालिकाले भने बजेट नहुँदा काम अघि बढाउन नसकिएको जनाएको छ । 'फोर लेन सडकमा ढल निकास बनाउन ४१ करोड लाग्छ', वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, 'बजेट अभावका कारण ढल निकासको काम अगाडि बढाउन सकेका छैनौं ।' प्रदेश सरकार र दातृ निकाय खोजेर ढल निकासको समस्या समाधान गर्ने नगरपालिकाको भनाइ छ ।
पुल निर्माण सुस्त
वीरेन्द्रनगरको फोर लेन सडकमा ५ वटा पुल निर्माण गर्नुपर्नेछ । तर ती पुलमध्ये ३ वटा निर्माण सुरु हुन सकेको छैन । हालसम्म नेवारे खोला र ढोडेखाली नजिकको स्कुल खोलामा मात्रै पुल निर्माण थालिएको छ । तर सुरुवात भएका पुलले पनि कछुवाकै गति अगाडि बढ्ेका छन् । करिब ४० करोड लागतको पाँच वटा पुल निर्माणको जिम्मा पाएको स्वच्छन्द श्याम एन्ड शंकर तथा आशिष श्याम एन्ड शंकर निर्माण कम्पनीका सञ्चालक पदम खड्काले निर्माण सामग्री अभावले गर्दा निर्माणकार्य सुस्त भएको बताए । यसअघि निर्माण भएका इत्राम खोला, चाइनापुल, धुलियाबिटका पुल साँघुरा छन् ।
कहिले आउला फोर लेनको खुसी ?
२०७१ सालतिर सुर्खेतमा फोर लेन सडकको हल्ला चल्यो । कसैले नेपालगन्जदेखि सुर्खेतसम्म फोर लेन सडक बन्छ भन्ने खबर सुनाए । कोहलपुर-नेपालगन्जमा सडक चौडा हुँदै गर्दा सुर्खेतसम्म फोर लेनको बन्छ कि भन्ने केहीलाई आशा पनि लाग्यो ।
तर २०७२ सालसम्म आइपुग्दा मात्रै थाहा भयो धुलियाबिटबाट-बाङ्गेसिमलसम्म मात्रै फोर लेन सडक बन्ने कुरा । तर सर्वसाधारणलाई अझै पनि यो हल्लामात्रै हो या वास्तविकता छुट्याउन गार्हो भयो । जब सडक छेउछाउका बोटबिरुवा काटिन थाले त्यसपछि जनताले बल्ल विश्वास गरे, वास्तविकता रहेछ । सडक विस्तारसँगै वीरेन्द्रनगरवासीको मनमा खुसीयाली छायो । साँघुरा सडकहरु चौडा हुने भएपछि पैदलयात्रीलाई सहज र प्रहरीले दुर्घटना न्यूनीकरण हुने आशा गर्यो । तर अहिलेसम्म आइपुग्दा फोर लेन सडकका कारण नागरिकले दैनिक सास्ती खेप्दै आएका छन् ।
सडकको धुलो, धुवाँ र सडक बीचमा भएको निर्माण सामग्रीले पैदल यात्रीलाई आवतजावतमा समस्या छ । सडकले दिएको सास्तीका कारण पटकपटक स्थानीयले आन्दोलन गर्दै आएका छन् । पछिल्लो पटक मंसिर ६ मा स्थानीयले उसैगरी आन्दोलन गरे । सडक निर्माणप्रति ठेकेदारले ढिलाइ गरेको भन्दै स्थानीयले दुईं घन्टा सडक अवरुद्घ पारे । निर्माणकार्य सम्पन्न नहुँदासम्मका लागि दिनमा दुई पटक पानी हाल्ने सहमतिपछि सडक खुल्यो ।
यसरी चौडा र चिल्ला सडक कुद्ने प्रतीक्षामा फोर लेनको सास्तीलाई सहँदै आाएका छन् वीरेन्द्रनगरवासीले । तर फोर लेन कहिले बन्न भन्ने टुंगो लागेको छैन ।
तस्बिर : १, २, ३ निर्माणाधीन फोर लेन सडकको मंगलगढीचौक खण्ड । ४ सडकमै बगेको ढल ।
५ सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले गरेको अवरोध । ६, ७ फोरलेन सडकको बाङ्गेसिमल र रेडियो नेपाल क्षेत्र । ८ स्कुल खोलामा पुल निर्माण हुँदै ।