आइतबार, मंसिर २८, २०८२

भेडेटारमा भारतीय पर्यटकको घुँइचो

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

धनकुटा- भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आएको यो दोस्रो पटक हो। रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृष्य हेर्न औधी मनपर्छ।

National life

भेडेटारमा आयोजित ११औँ खाना महोत्सवका अवसरमा आएका रायले अर्को वर्ष पनि छुट्टी मनाउन यहीँ आउने बताए। उनी मात्र होइन अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको विहारलगायतका स्थानबाट हजारौँको सङ्ख्यामा भारतीय पर्यटक भेडेटार आएका छन्। चुरेक्षेत्रको धनकुटा र सुनसरीको सिमानामा अवस्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार बाह्रै महिना चिसो मौसमले परिचित छ।

होटल संघ भेडेटारले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर खानपान महोत्सव गर्दै आएको छ। यसपटक संघले पुस १५ गतेदेखि १७ गतेसम्मका लागि ११औँ महोत्सव आयोजना गरिरहेको छ।

भारतीय पर्यटकहरु निजी सवारीमा साथीभाइ र परिवारका साथ भेडेटार घुम्न आउने गरेका छन्। साथीहरु सिफारिसमा अन्य चार जना साथीसँग पहिलो पटक भेडेटार आएका विहारका सन्तोष रजकले आफूलाई भेडेटारले आकर्षित गरेको सुनाए। यहाँ हुने महोत्सव, प्राकृतिक वातावरण र यहाँको सेवा सत्कारको बयान सुनेर आफू पनि भेडेटार आएको उनको भनाइ थियो। 

त्यस्तै भारतको सुपोल जिल्ला विहारका अमृतकुमार पनि आफ्ना चार साथीसँग तेस्रो पटक भेडेटार आएका छन्। उनले पनि यहाँको वातावरण मन परेका कारण आफू पुनः छुट्टी मनाउन आएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

अहिले नयाँ वर्षमा घुम्न आउने भारतीय पर्यटकले भेडेटार आसपासका पर्यटकीय गन्तव्य र होटल भरिभराउ छन्। विशेष गरेर भेडेटार बजार आसपासका पर्यटकीय गन्तव्य नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, पाथीभरा मन्दिरलगायत स्थानमा भारतीय पर्यटकको बाक्लो उपस्थिति छ।

भारतीय पर्यटकको अत्यधिक भीडका कारण यहाँ सञ्चालित करिब दुई सय होटलले बास सेवा दिन कठिन भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। राति १० बजेसम्म खटिएर पर्यटकलाई बास मिलायौँ', राईले भने, 'केही भारतीय पर्यटक धरानतिर फर्किन बाध्य भए।'

हाल भेडेटारबाट नाम्जेको मगरगाउँसम्म जाने सडक कच्च भएकाले समस्या भएको उनको भनाइ छ। यो समय तराईमा हुस्सु लागेर घाम नलाग्ने तर भेडेटारमा मौसम खुलेर घाम लाग्ने गर्छ। ‘घाम ताप्न जाउँ’ भन्ने सन्देश दिनका लागि भेडेटारमा आयोजित खाना महोत्सवका कारण अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड लागेको राईको अनुभव छ।

महोत्सवका माध्यमबाट यहाँको प्रचारप्रसार भएकाले भारतीय पर्यटकको सङ्ख्या बढेको होटल संघका निवर्तमान अध्यक्षसमेत रहेका राईले बताए। नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको सङ्ख्या यो पटक थप बढेकाले उनीहरुलाई राख्न कठिन भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले उल्लेख गरे। अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी साना सवारी लिएर आएका भारतीय पर्यटकको सङ्ख्या यो पटक दोबर भएको उनको भनाइ छ।

विगत १४ वर्षदेखि होटल व्यवसाय गर्दै आएका अध्यक्ष लिम्बूले भने, 'भिडभाडले गर्दा हामीले उनीहरुलाई राख्नै भ्याएनौँ। सबैभन्दा बढी बिहारबाट पर्यटक आएका छन्। दरभङ्गा, सिक्किमलगायत स्थानबाट भेडेटार आउनेको सङ्ख्या राम्रो छ।'

भेडेटार घुम्न जाडोको समयमा दैनिक औसत दुई हजार र गर्मीमा सात हजारसम्म पूर्वी तराई र भारतबाट पर्यटक आउने गरेको होटल संघ भेडेटारको तथ्यांक छ।

प्रकाशित: Jan 01, 2024| 19:02 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्