मंगलबार, पुस १, २०८२

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

कास्की- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

National life

पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।​

पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिवार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनी एक्लै पदयात्रामा गएका थिए।​

पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रवार उनले आफ्नो नाम दर्ता गराएका थिए। बेपत्ता पर्यटकको खोजीका लागि पोखराबाट प्रहरी टोली त्यसतर्फ शनिवार साँझ नै प्रस्थान गरेपछि अझै पुग्न नसकेको प्रहरीले जनाएको छ।

‘पर्यटक सम्पर्कविहीन भएको सूचना पाएपछि हामीले शनिवार साँझ नै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई त्यसतर्फ पठाएका छौं’, प्रनाउ विकले भने, ‘प्रहरी टोली अझै सो ठाउँमा पुगिसकेको छैन, टोली पुगेपछि खोजीमा लाग्नेछ।’

Laxmi sunrise bank
kumari

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट समेत बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारको काम भइरहेको जानकारी दिए।

‘स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट आज बिहानदेखि नै खोजी सुरु गरे पनि साँझसम्म केही जानकारी प्राप्त हुन सकेको छैन’, गुरुङले भने।

स्थानीय पर्यटन व्यवसायीका अनुसार बेपत्ता पर्यटक मर्दीको भ्युपोइन्ट पार गरेर बेसक्याम्पतर्फ गएको जानकारी प्राप्त भएको छ। ​

मर्दीको हाई क्याम्पबाट आधार शिविर पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ। मर्दी हिमाल पदयात्रा पछिल्ला केही वर्षदेखि कहलिएको पदयात्रामा पर्दछ। माछापुच्छ्रे गाउँपालिकाको सिदिङ, धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाले अष्ट्रेलियन क्याम्पबाट मर्दी पदयात्रा सुरू गर्न सकिन्छ।

प्रकाशित: Dec 31, 2023| 20:00 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्