वीरगंज- वीरगंज भन्सार र एकीकृत जाँच चौकी (आइसीपि) मार्फत हुने पैठारीका लागी चोरीको ट्रक टेलर प्रयोग भइरहेको छ ।
अलौंस्थित आइसीपि भन्सारबाट सशस्त्र प्रहरीले चोरीको ट्रक प्रयोग भएको अवस्थामा तीन महिनाको अवधीमा चारवटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले छोटो समयमै ट्रक नियन्त्रणमा लिएपनि चोरीको ट्रक प्रयोग गर्ने क्रम नियन्त्रणमा आउन सकेको छैन ।
आइसीपि हुँदै भित्रिने सवारी साधनको रेकर्ड कम्प्युटर सफ्टवेयरमा प्रविष्ट गरिने भएकोले २४ घण्टाभित्र एउटै दर्ता नम्बरको सवारी प्रवेश गर्न पाउदैनन् । कम्प्युटर सफ्टवेयरले २४ घण्टाभित्र एउटा सवारीको प्रविष्टी एक पटक मात्र लिन्छ ।
एउटै सवारी र प्रग्यापन पत्रको प्रयोग गर्दै वीरगंज भन्सार नाकाबाट राजश्व छली संभव भएपनि आइसीपिमा कम्प्युटरमा आधारित सूचना प्रविधिका कारण राजश्व छली सहज नभएको भन्सार कार्यालयको दाबी छ।
भन्सार राजश्व छली नियन्त्रणको लागी नेपाल भारत दुबै सरकारले आयात निर्यात संकेत (एक्जिम कोड) अनिवार्य गरिएको छ।
सशस्त्र प्रहरीले गत साता उही दर्ता नम्बर जीजे२३वाई ८८६१ नम्बर भएको दुई वटा भारतीय ट्रक आइसीपि भन्सारबाटै नियन्त्रणमा लिएको छ। उही नम्बरको ट्रकमा चेचिस नंम्बर र इन्जिन नंम्बर फरक-फरक रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरीले दुबै पटक ट्रक नियन्त्रणमा लिएपनि चालक पक्राउ परेको छैन । ट्रकसहित चालक समेत पक्राउ पर्दा ट्रक दाबी गर्नेले चालक छुटाउन मुद्दाको फैसला नहुँदा सम्म ट्रकको मूल्य बराबरको धरौटी रकमसमेत भन्सार कार्यालयमा बुझाउनुपर्छ । चोरीको ट्रक संचालन गर्ने धन्दामा नेपाली र भारतीय दुबै सकृय रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ।
बरामद गरिएको मध्ये एउटा ट्रकको इन्जिन नं. एच.वाई.ई.जेड.४२३४९८, चेसिस नम्बर MB1A3EHD3HAXG9165 र अर्कोको इन्जिन एच.डब्लू.पी.जेड.१३८५८७, चेचिस नम्बर MB1A3EHD9HAVH1335 भएपनि सवारी दर्ता नम्बर (नम्बर प्लेट) भने एउटै रहेको फेला परेको थियो ।
यसअघि गत ४ असोजमा समेत सशस्त्र प्रहरीले उही दर्ता नम्बरको दुईवटा भारतीय ट्रक बरामद गरेको थियो । डब्लुबि ३९ ए ०८९१ नम्बरको दुईवटा ट्रक बरामद गरिएको वीरगंज भन्सार कार्यालयले जानकारी दिएको छ। बरामद ट्रक दाबी गर्न आएका विरुद्ध कानूनी कारवाहीको प्रकृया जारी रहेको छ।
पहिलो पटक बरामद भएको ट्रक छुटाउन ट्रक मालिकले धरौटी राखेर छुटेका छन् । बरामद ट्रक अझै पनि भन्सार कार्यालयको नियन्त्रणमै रहेको भन्सार प्रवक्ता मनिष कुमार महतोले जानकारी दिए।
भारतमा जिपिएस अनिवार्य गरिंदै
भारतीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले मालबाहक सवारी साधनको दर्ताका लागी भूउपग्रह सुचना प्रविधि (जिपिएस) अनिवार्य गर्दैछ । यस सम्बन्धी प्रस्ताव केन्द्रीय मन्त्री परिषदबाट अनुमोदन भएपछि तत्काल कार्यान्वयनमा आउनेछ। जिपिएस अनिवार्य गरिएपछि चोरीको ट्रक संचालन गर्न संभव हुनेछैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४