बिहीबार, भदौ १२, २०८२

हात्ती आतंकले खोसियो गाँस

खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ।
 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

vianetvianet

महोत्तरी- जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ।

Kumaribank

खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ।

“हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला?” हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुग्नुभएका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, “मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ।” शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ।

हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो। घरमा एक्लै बस्दै आएकी राधिका धन्न  बाँचेको बताउछिन्।

घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उनि सुनाउछिन्। “माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासी घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो”, माझी शुक्रबार बिहान झिसमिसेको घटना सम्झँदै भन्छन, “चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचे।” घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले ५/६ क्विन्टल धान छरेको छ।

Metro Mart

राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ। भुजेल पनि आपू कालको मुखबाटै जोगिएको बताउछन्। भुजेल सुतिरहेको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ। परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताए।

दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाएका छन्। 

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए।यसअघि गत बुधबार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो।

पछिल्ला करिब दुई महिनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ। वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ। दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन्। 

काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पुर्‍याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन्। यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ। 

सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ।बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ।

यसैबीच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ।           -रासस

प्रकाशित: Dec 31, 2023| 17:31 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्