वीरगन्ज- वीरगंज महानगरपालिकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई सुधार गर्न महानगपालिकाको कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ।
साधन श्रोतको अभावमा ट्राफिक व्यवस्थापनमा चुनौती भएको भन्दै ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएपछि महानगर प्रमुख विजय कुमार सरावगीले आवश्यक सहयोग जुटाउने प्रतिबद्धता जनाएका हुन्।
ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीबारे सरोकारवाला बीच सोमबार भएको छलफलमा सरावगीले ट्राफिक सचेतनाका लागी घण्टाघर चोकमा डिजिटल लाइट र डिस्प्ले बोर्ड उपलब्ध गराउन औधोगीक प्रतिष्ठानसँग पहल गर्ने बताए।
छलफलमा विभिन्न रुटको लागी सार्वजनिक सवारी छुट्ने बस स्टेण्ड व्यवस्थित बनाउन र निजी सवारी साधनको लागी पार्किङ व्यवस्था गर्न आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्न ट्राफिक प्रहरी सहितको ६ सदस्यीय समिति गठन गरिएको छ।
ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्यले वीरगंजको बजार क्षेत्रमा साँघुरो सडकमा सवारी साधनको चाप व्यवस्थापन गर्न व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४