जनकपुरधाम- बलात्कारपछि हत्या भएको निर्मला पन्तलाई न्यायको माग राख्दै पुनः जनकपुरमा प्रदर्शन भएको छ। नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले निर्मलाको हत्या भएको चार महिना बितिसकेपनि अपराधी कानुनी दायरमा आउन नसकेको भन्दै जनकपुरमा प्रदर्शन गरेको छ।
बलात्कारपछि हत्या जस्तो जघन्य अपराधिक घटनामा संलग्न अपराधीलाई लुकाउन र ढाकछोप गर्न कतै सरकार त लागेको छैन भन्दै तरुण दलले प्रश्नसमेत गरेको छ।
बलात्कारपछि हत्या जस्तो जघन्य अपराधिक घटनामा संलग्न अपराधीलाई लुकाउन र ढाकछोप गर्न कतै सरकार त लागेको छैन भन्दै तरुण दलले प्रश्नसमेत गरेको छ।
जनकपुरधाम-४ पिडडिया माइस्थानस्थित कांग्रेस पार्टी कार्यालयबाट निकलेको तरुण दलको विरोध जुलुस नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। निर्मला हत्यामा संलग्न व्यक्तिलाई यथाशीघ्र कारबाहीको दायरमा ल्याउन माग गर्दै ज्ञापनपत्रमा सशक्त आन्दोलनको चेतावनीसमेत दिइएको छ।
यसका साथै तरुण दलले चरम महँगीका कारण सर्वसाधारणलाई सास्ती भोग्नु परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । दैनिक उपभोग्य वस्तुदेखि अन्य सामग्रीहरुमा मूल्यवृद्धि गरेर सरकार शोषणमा उतरेको उसको आरोप छ। दैनिक उपभोग्य वस्तु एवं निर्माण सामग्री लगायतमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन तरुण दलले माग गरेको छ।
सबै तह र तप्कामा भइरहेको भ्रष्टाचारका कारण जनतालाई समस्या भोग्नु परिरहेको यथार्थबाट सरकार अवगत रहेपनि नियन्त्रण गर्न असफल रहेको तरुण दलले बुझाएको ज्ञापनमा आरोप लगाइएको छ। नेपाल वायुसेवा निगमको ‘वाइड बडी’ विमान खरिदमा भएको भ्रष्टाचारबारे सत्यतथ्य सार्वजनिक गर्न उसले माग गरेको छ।
साथै राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्नु राष्ट्रहितविपरित कार्य रहेको भन्दै यस्तो कार्य नगर्न तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्णको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४