धनगढी- स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले कैलालीको एक स्थानीय तहले सुत्केरीलाई घिउ उपहार दिन थालेको छ । कैलालीको गौरीगंगा नगरपालिकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई एक किलोग्राम घिउदिने गरेको छ ।
नगरपालिकाकी उपप्रमुख अचला चौधरीका अनुसार यही आर्थिक वर्षको प्रारम्भदेखि सुरु भएको यो कार्यक्रमबाट अहिलेसम्म एकसय ५० भन्दा बढी महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएर एक एक किलोग्राम घिउ लगिसकेका छन् ।
उपमेयर चौधरीले भनिन, ‘स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत एक किलोग्राम शुद्व घिउ उपहार दिने कार्यक्रम निकै लोकप्रिय भइरहेको छ । यसले सुत्केरी आमाको स्वास्थ्यलाई पनि फाइदा गरेको पाइएको छ । ’
सुत्केरी भएपछि घिउले तन्दुरस्त बनाउन सहयोग गर्ने र छुट्टै नयाँ कार्यक्रम भएकाले नगरपालिकाले यसलाई अगाडि बढाइरहेको चौधरीले बताइन । ठूलो संख्यामा थारु बसोवास भएको यो नगरपालिकामा आधा भन्दा बढी महिला अझै घरमै बच्चा जन्माउने गरेका छन् ।
घ्यू उपहार पाउन स्वास्थ्य सस्थामा चार पटक गर्भवती जाच गराएको हुनु पर्छ । यो अभियानमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको साथ र सहयोग रहेको छ ।
सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने चलनलाई बढावा दिन सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क गर्नुका साथै सुत्केरीलाई यातायत खर्च वाफत हिमालमा १५ सय, पहाडमा एक हजार र तराईमा पाँच सय रुपैया प्रदान गर्ने गरेको छ । केही स्थानीय तहले सस्थागत सुत्केरी बढाउन सरकारले दिने प्रोत्साहन भत्ता दोब्बर बनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४